काठमाण्डु – नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच सञ्चालन हुने संयुक्त तालिम अभ्यास ‘एक्स–ब्यालेन्स नेल’ मंगलबार शुभारम्भ भएको छ ।
विक्रम संवत् २०६० सालदेखि सञ्चालन हुँदै आएको ‘एक्स–ब्यालेन्स नेल’को यो ४१औं संस्करण हो ।
संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् । तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा फागुण २४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसिया लगायत देशहरूका सैन्य संगठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।
यसै क्रममा आगामी फागुण ८ गतेदेखि २१ गतेसम्म वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा ग्लोबल पीस अपरेसन इनिसिएसनको सहयोगमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।




प्रतिक्रिया