काठमाण्डु – विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका विविध पक्षहरू समेटी नेपाली सेनाको अगुवाइमा राष्ट्रिय स्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण निकायहरूको सहभागितामा सञ्चालन भएको अभ्यास हातेमालो प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन् ।
३ दिनसम्म सञ्चालन भएको छैठौं संस्करणको अभ्यास विक्रम संवत् २०७५ सालबाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ ।
समापन समारोहमा सम्बोधन गर्दै प्रधानसेनापतिले यस प्रकारका अभ्यासहरूले विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाई समग्र राष्ट्रको विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि हुने बताए । प्रधानसेनापतिले हालैको जाजरकोट भूकम्प २०७२ सालको गोरखा भूकम्प तथा कोभिड–१९ महामारी लगायतका विपद्का दौरान भोग्नुपरेका कठिनाइहरू र यसका सकारात्मक पक्षहरूबारे आफ्नो विज्ञता तथा अनुभवलाई एकआपसमा साटासाट गर्न अभ्यास उपयुक्त मञ्च सावित भएको बताए ।
उनले आगामी दिनमा विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्यका दौरान अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था, संरचनागत सुधार, क्षमता विकास, तालिम, राहत तथा बन्दोबस्ती लगायत विविध पक्षहरू समेटिएको अभ्यासले राज्यका विपद् सम्बद्ध नीति र कार्यक्रमहरूलाई सार्थक बनाउन मद्दत पुर्याउने बताए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, विभिन्न मन्त्रालय लगायत सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय निकायहरू, रेडक्रस लगायत गैरसरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।




प्रतिक्रिया