भूतपूर्व सैनिक सम्मेलन उद्घाटन, यस्ता छन् कल्याणकारी कार्यक्रम

भूतपूर्व सैनिक सम्मेलन उद्घाटन, यस्ता छन् कल्याणकारी कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले मध्य पृतना हेडक्वार्टर अन्तर्गत भरतपुर ब्यारेक चितवनमा आयोजित भूतपूर्व सैनिक सम्मेलन २०८० को आज शुक्रबार उद्घाटन गरेका छन् ।

उद्घाटनका अवसरमा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले अवकाशप्राप्त एवं बहालवाला सैनिकहरू एकाघरका परिवार रहेको उल्लेख गर्दै संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अग्रजहरूले निर्वाह गरेको निस्वार्थ तथा गहन भूमिकाको प्रशंसा जति गरे पनि कम हुने बताए ।

विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न सुझाव दिँदै उनले आफ्नै गाउँठाउँमा प्रचुर सम्भावनाहरू रहेको हुँदा सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लगाउन आग्रह गरे ।

सम्मेलनमा चितवन निवासी ९६ वर्षीय ग.प्र.हु. गंगाबहादुर सुनुवार (अ.प्रा.) र स्व. सुबेदार गजेन्द्रबहादुर कार्की (अ.प्रा.) को श्रीमती मकवानपुर निवासी ९८ वर्षीय गोमादेवी कार्कीलाई सम्मान गरिएको छ । सर्वोत्कृष्ट लघु उद्यमी/व्यवसायीहरू चितवन निवासी गु.का.हु. रंगबहादुर खवास (अ.प्रा.) को श्रीमती जगिसरा खवास र चितवन निवासी अवकाश प्राप्त जम. चन्द्रप्रकाश पौडेल (अ.प्रा.) लाई प्रशंसा पत्र एवं पुरस्कार वितरण गरिएको छ ।

यस्तै ४ वा सोभन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका ७ जना अभिभावकहरूलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १२ (बाह्र) जनालाई ह्विल चेयर, बैसाखी र ‘ब्लाइन्ड स्टीक’ तथा आर्थिक सहयोग वितरण गरिएको छ ।

कल्याणकारी कार्यक्रमहरूमार्फत भूतपूर्व सैनिकहरू, आश्रित परिवार एवं बहालवाला सैनिक परिवारजनलाई स्वरोजगार बनाई आर्थिक रूपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत ५ जना उद्यमी व्यवसायीहरूलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

समारोहमा नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा.), रथी दुर्गानाथ अर्याल (अ.प्रा.), रक्षा मन्त्रालयका सह सचिव, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, कल्याणकारी कोष व्यवस्थापन समितिका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा भूपू सैनिकहरूको तर्फबाट झाँकी, खुकुरी ड्रिल, मास पि.टी. तथा तेक्वान्दो र सैनिक व्याण्डको प्रस्तुति समाविष्ट थियो ।

आज शुक्रबारै नुवाकोटको मैथली ब्यारेकमा पनि भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनकै अवसर पारेर भरतपुर ब्यारेक र मैथली ब्यारेक, त्रिशूलीमा स्वास्थ्य शिविर समेत सञ्चालन भइरहेको छ ।

२०८० चैत्र ०४ गते उपत्यका पृतना हे.क्वा. अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानहरूमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम रहेको छ ।