सैनिक परिवारलाई सम्मान गर्दै मनाइयो संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस

सैनिक परिवारलाई सम्मान गर्दै मनाइयो संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकहरूले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरूप संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष २९ मेका दिन मनाउँदै आएको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस यस वर्ष ‘फिट फर द फ्युचर, बिल्डिङ बेटर टुगेदर’ नाराका साथ मनाइएको छ ।

दिवसकै सन्दर्भमा नेपाली सेनाले सोमबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरूप विविध कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने सैनिकहरूका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा विभिन्न मितिमा मरणोपरान्त प्रदान गरिएको पदक र प्रधानसेनापति प्रभुराम शर्माद्वारा प्रदान गरिएको प्रशंसा–पत्र हस्तान्तरण गरे ।

शान्ति सेनामा कार्यरत रहँदा जमदार थिरप्रसाद गौतम, प्युठ दिपेन्द्र वस्ती, अमल्दार अनिल गुरुङ, हुद्दा पशुपति कार्कीको निधन भएको थियो ।

सोमबार आयोजित कार्यक्रममा गत वर्ष शान्ति सैनिकको रूपमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ योगदान पुर्‍याएका सह–सेनानी रुकेश नेपाली, सुबेदार नवराज गिरी र हुद्दा भुवन भुजेललाई समेत प्रधानसेनापतिद्वारा प्रदान गरिएको कदरपत्र हस्तान्तरण गरिएको थियो ।

युनाइटेड नेसन्स अजर्भेसन ग्रूप इन लेबनन मिसनमा ५ जना नेपाली सैनिक पर्यवेक्षकहरूको सहभागिताका साथ सन् १९५८ बाट सुरुवात भएको विश्व शान्ति कार्यमा नेपाली सेनाको सहभागिता ६ दशकभन्दा लामो रहेको छ । हालसम्म विभिन्न ४४ वटा मिसनमा नेपाली सेनाका १ लाख ५१ हजार ४९१ जना शान्ति सैनिकहरूले विश्व शान्ति स्थापनार्थ विशिष्ट योगदान दिइसकेका छन् भने सो क्रममा ७३ जनाले वीरगति प्राप्त गरेका छन् ।

हाल ५ हजार ८८३ जना नेपाली शान्ति सैनिकहरू विश्वका विभिन्न ११ वटा शान्ति मिसनहरूमा तैनाथ रही विश्व शान्ति स्थापनार्थ शान्ति सैनिक खटाउने मुलुकहरूमध्ये नेपाल पहिलो स्थानमा रहेको छ । महिला शान्ति सैनिक खटाउने राष्ट्रहरूमा समेत नेपाल पहिलो स्थानमा रहेको छ ।

हालसम्म २ हजार ६९४ जना महिला शान्ति सैनिकहरूले विभिन्न शान्ति मिसनमा योगदान दिइसकेका छन् भने हाल ६६१ जना कार्यरत छन् ।

सोमबारको कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका साथै विश्व शान्ति स्थापनार्थ वीरगति प्राप्त गर्ने सैनिकका परिवारको उपस्थिति थियो ।