आन्तरिक सुरक्षा चुनौतीबारे छलफल गर्दै नेपाली सेना, पृतनापति समन्वयात्मक बैठक सुरु

आन्तरिक सुरक्षा चुनौतीबारे छलफल गर्दै नेपाली सेना, पृतनापति समन्वयात्मक बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०८१ सुरु भएको छ ।

नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता एवं रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यमा बैठक सुरु भएको हो ।

२ दिनसम्म सञ्चालन हुने बैठकमा पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम छ । जङ्गीअड्डामा रहेका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरूले समेत आ–आफ्नो जिम्मेवारी अनुरूपको प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।

बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले २ दिन परेको अविरल वर्षापश्चात् आएको बाढी तथा पहिरोमा परी मुलुक आक्रान्त रहेको अवस्थामा प्रभावित भएका आम सर्वसाधारणहरूको उद्धार कार्यमा सेनाले पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै अझ तदारुकताका साथ कार्य गर्न निर्देशन दिए ।

उनले धर्म, क्षेत्र, जात आदिका नाममा मुलुकमा अवाञ्छित क्रियाकलाप बढाउन खोजिएको साथै अन्तर्राष्ट्रिय, क्षेत्रीय स्तरमा भएका द्वन्द्वले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पार्ने प्रभाव एवं राष्ट्रियता र राष्ट्रको रक्षा/प्रतिरक्षाबारे बैठकले गम्भीर समीक्षा गर्दै निष्कर्ष निकाल्न सफल हुने विश्वास व्यक्त गरे ।

उनले संविधान प्रदत्त जिम्मेवारी लगायत देशका सम्पूर्ण जिल्लालाई सडक सञ्जालमा जोड्ने विकास निर्माण तथा विभिन्न महामारी लगायतका असहज परिस्थितिहरूमा समेत आफूलाई सुम्पिएको जिम्मेवारीहरू सदैव उच्चतम ढंगले पूरा गर्दै आएको सेनाले साख कायम राख्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानसेनापति अशोकराज सिग्देलले केही दिन अगाडि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण विशेष गरी प्रभावित कोशी, मधेश, बागमती प्रदेश लगायत आसपासका क्षेत्रहरूबाट घाइते, बिरामी र अलपत्र परेका नागरिकहरूलाई पैदल तथा हवाई साधनमार्फत उद्धार कार्य भइरहेको बताए । उनले बाढीपहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक सञ्जाल तथा राजमार्ग सुचारु गराउनको लागि नेपाली सेनाले स्थानीय तह र सुरक्षा निकायसँग हातेमालो गरी तदारुकताका साथ कार्य गरिरहेको समेत जानकारी गराए ।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिहरूका सम्बन्धमा नेपाली सेनाले निरन्तर सूक्ष्म अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतीहरूलाई सामना गर्न सेना सदैव तयारी अवस्थामा रहेको उल्लेख गरे । उनले सेनाको प्राथमिक जिम्मेवारी विशेषतः राष्ट्रको प्रतिरक्षा र आन्तरिक सुरक्षामा दिनानुदिन थपिँदै आएका विभिन्न प्रकारका चुनौतीहरूबारे २ दिने बैठकमा छलफल र विमर्श गरी सेनाको योजनाहरूको पुनरावलोकन तथा संगठनको क्षमता विकासका लागि आधुनिकीकरण लगायत योजनाहरू अद्यावधिक गरिने बताए ।

उनले आफ्नो कार्यकालमा नेपाली सेनालाई प्राप्त संविधानप्रदत्त कार्य तथा जिम्मेवारीहरू प्रभावकारी रूपमा सम्पादन गर्दै नेपाली सेनाको सांगठनिक सुदृढीकरण र आधुनिकीकरण गर्न ७ वटा लक्ष्यहरूसहित जारी भएको कमान्ड मार्गनिर्देशन बमोजिम कार्यसम्पादन गर्न विभागीय प्रमुख, पृतनापति लगायत सम्बन्धित सबै तहका कमान्डहरूलाई निर्देशन दिए ।

कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगाल लगायत रथीवृन्द एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।