प्रधानसेनापति ट्रफीको उपाधि उपत्यका पृतनालाई

प्रधानसेनापति ट्रफीको उपाधि उपत्यका पृतनालाई


काठमाण्डु – प्रधानसेनापति ट्रफी २०८१ को समग्र खेलमा प्रथम हुँदै उपत्यका पृतनाले उपाधि जितेको छ ।

भदौ ३० गतेबाट सुरु भएको ट्रफी खेलकुद प्रतियोगिता मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश गरिएको प्रतियोगितामा पृतना, युद्ध मद्दति बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टीमहरू सहभागी थिए ।

प्रतियोगिताको समग्रमा श्री उपत्यका पृतना प्रथम, श्री नम्बर १६ बाहिनी द्वितीय र श्री विशेष फौज बाहिनी तृतीय भएका छन् । गणतर्फ श्री पुरानो गोरख गण प्रथम, श्री जगदल गण र श्री भैरवनाथ गण समान अंकका साथ द्वितीय भएका छन् ।

जंगी अड्डाको खेल मैदानमा सम्पन्न समारोहमा प्रधानसेनापति महारथी अशोकराज सिग्देलले प्रतियोगितामा प्रथम श्री उपत्यका पृतना तथा गणहरू मध्य प्रथम श्री पुरानो गोरख गणलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरूलाई पुरस्कृत गरे ।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ह्विाल चियर खेल प्रतियोगिता लगायत अन्य खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने ११ जना खेलाडीहरूलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरे ।

प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टीमहरूलाई पूर्व प्रधानसेनापतिहरूले पुरस्कृत गरे । वर्षभरमा उत्कृष्ट खेलाडीको रूपमा छनौट भएका महिला र पुरुष खेलाडी १/१ जनालाई प्रधानसेनापति महारथी गौरव शम्शेर जबरा अजेयबल ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत विभिन्न विधाहरूमा विजेता भएका खेलाडीलाई अतिरथी निरशम्शेर जबरा पुरस्कार कोषबाट नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

समारोहमा पूर्व प्रधानसेनापतिहरू, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्न खेलकुद संघघका पदाधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू, नेपाल प्रहरीका प्रतिनिधि एवं सञ्चारकर्मीको उपस्थिति थियो ।

समापन समारोहमा भएको कालीशक्ति गण (ई) र भैरवनाथ गणबिचको फाइनल फूटबल खेलमा कालीशक्ति गण (ई) २–१ ले विजयी भएको थियो ।

समारोहमा सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।