काठमाण्डु – सेना दिवस २०८१ को अवसरमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्किने फोटो, हातहतियार, पोशाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनीमार्फत आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयहरूमा जानकारी प्रदान गर्ने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको छ ।
मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति महारथी अशोकराज सिग्देलले प्रदर्शनीको शुभारम्भ गरे ।
प्रधानसेनापतिले नेपाली सेना फोटो प्रतियोगिता–२०८१ का उत्कृष्ट ३ जना गैरसैनिक फोटोग्राफर, ३ वटा नेपाली सेनाका युनिट र १ जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्यांकन समितिका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मानित गरे ।
कार्यक्रमपश्चात् प्रधानसेनापति लगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कूल २९ वटा स्टलहरू राखिएका छन् ।
माघ १८ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आमनागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सैनिक श्रीमती संघकी अध्यक्ष, बलाध्यक्ष, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक सहचारीहरू, अधिकृत, सञ्चारकर्मीहरू लगायतको उपस्थिति थियो ।.
प्रतिक्रिया