काठमाण्डु – नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस २०८१ को अन्तिम पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानसेनापति अशोक राज सिग्देलले पूर्वाभ्यास कार्यक्रमको सोमबार निरीक्षण गरेका छन् ।
कार्यक्रममा उनले श्री चरक वाहिनीलाई युनिट झण्डा प्रदान र केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षण–२०८१ मा सर्वोत्कृष्ट भएको श्री मध्य पूर्वी पृतनालाई पुरस्कृत गरे । सो अवसरमा उनले प्रकृति संरक्षण ट्रफी प्रतियोगिताअन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री नयाँ गोरख गण र ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ श्री देवीबक्स गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा प्रधानसेनापति सिग्देलले सेना दिवस २०८१ को उपलक्ष्यमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे ।
कार्यक्रममा प्रधानसेनापति सिग्देलले अवकाशपश्चात् पनि विभिन्न तवरबाट समाजमा पुर्याएको योगदानको कदर स्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारलाई समेत पुरस्कृत गरेका थिए ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस फागुण १४ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदैछ । कार्यक्रममा नेपाली सेनाका साथै संयुक्त राज्य अमेरिका, बेलायत र भारतीय सेनाका व्याण्ड टोलीबाट संयुक्त साङ्गीतिक प्रस्तुति हुनेछ ।




प्रतिक्रिया