काठमाण्डु – नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख/रचना प्रतियोगिता २०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैठौं संस्करण विमोचन गरिएको छ ।
सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले जर्नल विमोचन गरेका छन् ।
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गरिएको छ । खुला सामरिक लेख/रचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधानसेनापति महारथी सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरे ।
कार्यक्रममा प्रधानसेनापति सिग्देलले जर्नलका मूल्यांकन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।
विमोचन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, प्राध्यापक वर्ग, रथीवृन्द, विषय विज्ञ तथा सम्पादक मण्डल, लेखकहरू लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति थियो ।




प्रतिक्रिया