काठमाण्डु – श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिमको आईतबार सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।
सो अवसरमा क्याडेट छात्रछात्राहरूलाई सम्बोधन गर्दै राष्ट्रिय सेवा दलका संरक्षक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले हालको विश्व परिवेशमा नैतिकवान्, ऊर्जाशील, सिर्जनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको कुरा उल्लेख गर्दै राष्ट्रिय सेवा दल नेपाल जनशक्ति उत्पादनमा प्रयासरत रहेको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दल तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र बढीभन्दा बढी युवा विद्यार्थीहरूलाई तालिममा समेट्न प्रयास भइरहेको कुरा बताउँदै युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठूलो महत्त्व रहेको बताए ।
प्रधानमन्त्री ओलीले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्रा श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुरकी रेजिमा भण्डारी क्षेत्री, सर्वोत्कृष्ट छात्र श्री गोल्डेन गेट कलेज काठमाण्डुका अनुश खत्री र सर्वोत्कृष्ट प्लाटून भीएस निकेतन सेकेण्डरी स्कूल मिनभवनलाई पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय सेवा दलका सहसंरक्षकद्वय रक्षामन्त्री मानवीर राई एवं प्रधानसेनापति अशोक राज सिग्देलले दीक्षित क्याडेटहरूलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए ।
दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्वप्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिवहरू, बलाधिकृत, बलाध्यक्ष, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी, सैनिक श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरू, सञ्चारकर्मी, एनसीसी पूर्वविद्यार्थी एशोसिएशन नेपालका पदाधिकारीहरू लगायतको उपस्थिति थियो । त्यस अवसरमा यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन आएका भारत, भुटान र माल्दिभ्स नेसनल क्याडेट क्रोपस्का अधिकृत तथा क्याडेट छात्रछात्राहरूको उपस्थिति थियो ।
कार्यक्रममा राष्ट्रिय सेवा दल नेपालका क्याडेट छात्रछात्राहरूले सांस्कृतिक प्रस्तुति एवं विविध कलाकौशल प्रस्तुत गरेका थिए ।
यस वर्ष ७ हजार ७०४ जना क्याडेट छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् । विक्रम संवत् २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ८२ हजार १८४ जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन् ।




प्रतिक्रिया