काठमाण्डु – नेपाली सेना लगायतका सुरक्षा निकाय परिचालन भएपछि बिहीबार बिहान साढे १० बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा देशभर भएका सुरक्षा सम्बन्धी गतिविधिबारे विवरण सार्वजनिक गरिएको छ ।
काभ्रेपलान्चोकको बनेपा–९ नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित रूपमा नष्ट गरेको छ ।
विभिन्न स्थानका कारागार र सुधार गृहबाट भागेका कैदीबन्दी र बालबन्दीहरूलाई समेत नियन्त्रणमा लिइएको छ । सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदी, डोटीको दिपायलसिलगढीस्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दी, धादिङको गजुरीस्थित कारागारबाट फरार भएका ३९ जना कैदी र बाँकेको डडुवास्थित जयन्दु बाल सुधार गृहबाट भागेका १६ जना बालबन्दी नियन्त्रणमा लिइएको छ ।
बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा कैदीबन्दीहरूले होहल्ला र आगजनी गर्दै बाहिर निस्किने प्रयास गरे पनि सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा १ जना कैदी घाइते भएका छन् ।
यसैबीच, ललितपुरको भैसेपाटीस्थित प्रहरी चौकीलाई स्थानीयवासीले सरसफाइ गर्दै त्यहाँ खटिएका प्रहरीहरूलाई स्वागत गरेका छन् । सेनाले हालसम्म विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद गरिएको तथ्यांक समेत सार्वजनिक गरेको छ ।




प्रतिक्रिया