काठमाण्डु – राष्ट्रिय सुरक्षा परिषद्को ४१औं बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना परिचालन गर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
रक्षा मन्त्रालयका सचिव तथा सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालका अनुसार बैठकले संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालनका लागि औपचारिक सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा राष्ट्रिय सुरक्षा सम्बन्धी सम्भावित चुनौती, हालैका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले सुरक्षामा पार्न सक्ने प्रभाव र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको परिषद् सचिवालयले जनाएको छ ।
बैठकले सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया