पाकिस्तान आर्मी टीम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण पदक

पाकिस्तान आर्मी टीम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण पदक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मित्रराष्ट्र पाकिस्तानमा सम्पन्न नवौँ पाकिस्तान आर्मी टीम स्पिरिट प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको छ ।

माघ २२–२४ गतेसम्म पाकिस्तानको पञ्जाब प्रान्तस्थित खारियाँमा रहेको नेसनल काउन्टर टेरोरिजम सेन्टर (एनसीटीसी) मा प्रतियोगिता आयोजना गरिएको थियो । सैन्य अभ्यासमा पाकिस्तानसहित १७ राष्ट्रका ३८ वटा सैनिक टोलीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिताका क्रममा सहभागी टोलीहरूको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेशागत ज्ञान, रणकौशल तथा समन्वय क्षमताको परीक्षण गरिएको थियो । ती सबै मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेनाको टोलीले सबैभन्दा बढी अंक प्राप्त गरी स्वर्ण पदक हात पारेको छ ।

सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले यसअघि पनि सन् २०२२ र २०२५ मा स्वर्ण पदक प्राप्त गरिसकेको छ । पछिल्लो सफलतासँगै नेपाली सेनाले अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा आफ्नो व्यावसायिक क्षमता, अनुशासन र प्रतिस्पर्धी दक्षता पुन: प्रमाणित गरेको छ ।