काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (युनाइटेड नेशन्स मिसन इन साउथ सुडान–यूएनएमआइएसएस) अन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
यूएनएमआइएसएसमा फोर्स रिजर्भ बटालियनका रूपमा कार्यरत श्री चण्डीप्रसाद गण (शान्ति सेना) ११औं डफ्फालाई प्रतिस्थापन गर्न श्री गरुडदल गण (शान्ति सेना) १२औं डफ्फाका १६२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली बुधबार मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।
मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका १७१ जना नेपाली शान्ति सैनिकहरू बुधबारै स्वदेश फिर्ता भएका छन् । स्वदेश फर्किएका सैनिकहरूको योगदानप्रति नेपाली सेनाले उच्च प्रशंसा व्यक्त गरेको छ ।
हाल दक्षिण सुडानस्थित मिसनमा नेपाली सेनाका कुल १ हजार ६९ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् । नेपाली शान्ति सैनिकहरूले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना, सर्वसाधारणको सुरक्षा तथा मानवीय सहयोग पुर्याउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपालले विगत लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । अन्तर्राष्ट्रिय शान्ति स्थापना प्रयासमा नेपाली सेनाको व्यावसायिकता र प्रतिबद्धता विश्वभर प्रशंसित रहँदै आएको छ ।




प्रतिक्रिया