आसन्न निर्वाचनलाई सुरक्षित बनाउन पृतनापतिहरूलाई प्रधानसेनापति सिग्देलको निर्देशन

आसन्न निर्वाचनलाई सुरक्षित बनाउन पृतनापतिहरूलाई प्रधानसेनापति सिग्देलको निर्देशन


काठमाण्डु – सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालित ‘पृतनापति समन्वयात्मक बैठक–२०८२’ बुधबार सफलतापूर्वक सम्पन्न भएको छ ।

बैठकको अन्तिम दिन प्रधानसेनापति महारथी अशोकराज सिग्देलले पृतनापतिहरूलाई विशेष सम्बोधन गर्दै विविध निर्देशनहरू दिएका छन् ।

निर्वाचन सुरक्षामा केन्द्रित निर्देशन बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले आसन्न निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न निर्देशन दिए । उनले ‘एकीकृत सुरक्षा योजना–२०८२’ अनुसार अन्य सुरक्षा निकाय र सरोकारवाला पक्षहरूसँग प्रभावकारी समन्वय गरी कार्य गर्न पृतनापतिहरूलाई सचेत गराए । उनले सकलदर्जाको सामूहिक भावना र एकढिक्का हुन समेत जोड दिए ।

बैठकका मुख्य एजेन्डाहरू समापनका अवसरमा प्रधानसेनापतिले पृतना स्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको गहन विश्लेषण, नेपाली सेनाले सञ्चालन गरेका तालिमहरूको समीक्षा, बन्दोबस्तीका पक्षहरू र अन्य समसामयिक विषयहरूमा केन्द्रित रहेर विस्तृत छलफल गरिएको थियो ।

उच्च सैन्य अधिकारीहरूको उपस्थिति समापन कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, विभिन्न विभागका रथीबृन्दका साथै अन्य उच्चपदस्थ सैनिक अधिकृतहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकले आगामी दिनमा सेनाको कार्यदिशा र निर्वाचन सुरक्षाको तयारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।