काठमाण्डु – नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ को अन्तिम पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार निरीक्षण गरेका छन् ।
आगामी आईतबार सैनिक मञ्चमा आयोजना हुने विविध कार्यक्रमहरूको पूर्वतयारी स्वरूप निरीक्षण सम्पन्न भएको हो ।
निरीक्षणका दौरान प्रधान सेनापति सिग्देलले सेनाका विभिन्न गण तथा गुल्महरूलाई उनीहरूको विशिष्ट योगदानका लागि पुरस्कृत गरे । सो अवसरमा उनले श्री नम्बर १ र २ विपद् व्यवस्थापन गण तथा राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई युनिट झण्डा प्रदान गर्नुका साथै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता २०८२ मा प्रथम हुने उपत्यका पृतना र द्वितीय हुने मध्यपश्चिम पृतनालाई पुरस्कार प्रदान गरे । प्रधानसेनापति ब्यानर प्रतियोगितामा प्रथम हुने नयाँ श्रीनाथ गण, त्रिनेत्रदल गण र ईन्द्रदल गुल्म लगायतका विभिन्न विधाका उत्कृष्ट युनिटहरूलाई पनि पुरस्कृत गरिएको छ ।

प्रकृति संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युनिटहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ संग्राम शार्दूल गुल्मले यस वर्षको प्रकृति संरक्षण ट्रफी प्राप्त गरेका छन् । प्रधानसेनापतिले विभिन्न रथीवृन्द, अधिकृत र पदिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिह्न समेत प्रदान गरेका छन् ।
समारोहमा बहालवाला सैनिकहरूका साथै अवकाशपश्चात् पनि समाजमा महत्त्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट भूतपूर्व सैनिक र उनीहरूका परिवारजनलाई समेत कदर स्वरूप पुरस्कृत गरिएको थियो। हरेक वर्षझै यस वर्ष पनि आगामी फागुण ३ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ सेना दिवस मनाइँदैछ ।




प्रतिक्रिया