सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति सिग्देलद्वारा सकलदर्जालाई विशेष सम्बोधन

सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति सिग्देलद्वारा सकलदर्जालाई विशेष सम्बोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाशिवरात्रि तथा २६३औं सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई विशेष सम्बोधन गरेका छन् ।

शनिबार जङ्गीअड्डामा आयोजित विशेष कार्यक्रममा उनले बहालवाला तथा अवकाशप्राप्त सैनिक, सैनिक सेवामा कार्यरत निजामती कर्मचारी र उनीहरूका परिवारजनलाई शुभकामना व्यक्त गरे ।

सम्बोधनका क्रममा प्रधानसेनापति सिग्देलले नेपालको गौरवमय गाथा, परम्परा र संस्कृतिलाई चिन्नु र गौरव गर्नु प्रत्येक सैनिकको कर्तव्य भएको बताए । उनले इतिहासका पाठहरूबाट सिक्नका लागि सबै तहका सैनिक तालिमहरूमा अनिवार्य रूपमा नेपाल र नेपालीको इतिहास सम्बन्धी अध्ययन–अध्यापन गराउन निर्देशन समेत दिए ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनाले विभिन्न क्षेत्रमा निर्वाह गर्दै आएका जिम्मेवारीहरूको प्रशंसा गर्दै आसन्न निर्वाचनलाई विशेष प्राथमिकतामा राखेका छन् । उनले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउनका लागि उत्कृष्ट ढङ्गले जिम्मेवारी पूरा गर्न सकलदर्जालाई विशेष निर्देशन दिए ।

यसअघि शनिबारै प्रधानसेनापति सिग्देलले कर्तव्यपालनको सिलसिलामा आफ्नो प्राण उत्सर्ग गर्ने वीर सैनिकहरूको सम्मानमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले छाउनीस्थित वीर स्मारक र सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारक पुगेर श्रद्धा सुमन अर्पण गरे । सोही अवसरमा छाउनीमा आयोजित कार्यक्रममा उनले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई भेटेर सम्मान समेत व्यक्त गरेका थिए ।