शिवरात्रीका अवसरमा रारा ताल क्षेत्रमा सेनाद्वारा सरसफाइ अभियान सुरु

शिवरात्रीका अवसरमा रारा ताल क्षेत्रमा सेनाद्वारा सरसफाइ अभियान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाले रारा ताल क्षेत्रमा नियमित सरसफाइ अभियान सुरु गरेको छ ।

रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको हनुमान ध्वज गुल्म हुटुले शनिबार सरसफाइ कार्यक्रम आयोजना गर्दै अबदेखि हरेक महिनामा एक पटक ताल क्षेत्र सफा गर्ने घोषणा गरेको हो ।

सरसफाइ कार्यक्रममा सेना, शस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन सुरक्षाकर्मी, होटल व्यवसायी, घोडा व्यवसायी तथा निकुञ्जका कर्मचारी सहभागी भएका थिए। उनीहरूले ताल वरपरबाट करीब ४०० केजी फोहोर संकलन गरेका छन् ।

हनुमान ध्वज गुल्म हुटु राराका सेनानी खड्गबहादुर श्रेष्ठले रारा भ्रमण गर्ने पर्यटक बढ्दै जाँदा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको बताए । उनका अनुसार १६ किलोमिटर ताल क्षेत्रलाई स्वच्छ राख्न मासिक सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी (सीडीओ) खडानन्द अधिकारीले रारा मुगुको मात्र नभई समग्र कर्णाली प्रदेशको पर्यटन सम्भावना बोकेको महत्वपूर्ण गन्तव्य भएकाले यसलाई सफा राख्न सबैको सहकार्य आवश्यक रहेको बताए ।

स्थानीयले छाडा चरिचन तथा पर्यटकले ल्याएका प्लास्टिकजन्य सामग्री उचित व्यवस्थापन नगर्दा ताल क्षेत्रमा फोहोर बढ्दै गएको बताएका छन् । सेनाले अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए पनि अन्य सरोकारवाला निकायको सहयोग आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।