काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले एकीकृत सुरक्षा योजना २०८२ अनुसार परिचालन सुरु गरेको छ ।
निर्वाचन सुरक्षाका सबै कार्यहरू ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४’को परिधिभित्र रही अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा अघि बढाइएको सेनाले जनाएको छ ।
विक्रम संवत् २०४८ सालको प्रतिनिधिसभा निर्वाचनदेखि नै सेनाले निर्वाचन सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसपटक पनि सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाण्डुबाट देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्ने र निर्वाचनका दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाएको छ ।
निर्वाचन समापन भएपछि मतपेटिकाको सुरक्षा र ढुवानीलाई सेनाले उच्च प्राथमिकतामा राखेको छ । स्थापित प्रोटोकलअनुसार मतदान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत र दलका प्रतिनिधिहरू सम्मिलित एकीकृत टोलीले नेपाली सेनाको सुरक्षा घेरामा मतपेटिकालाई सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्याउनेछ ।
नेपाली सेनाले विगतका निर्वाचनहरूको अनुभव र वर्तमान सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै एकीकृत टोलीमार्फत सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने जनाएको छ । निर्वाचन आयोग र गृह मन्त्रालयको समन्वयमा सेनाले संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी समेत बढाएको छ ।





प्रतिक्रिया