काठमाण्डु – दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको टोली बुधबार सफलतापूर्वक अदलीबदली भएको छ ।
संयुक्त राष्ट्रसंघीय मिसनमा आफ्नो निर्धारित कार्यकाल पूरा गरी १६५ जना नेपाली शान्ति सैनिकहरू बुधबार स्वदेश फर्किएका छन् ।
मिसन इलाकामा कार्यरत श्री चण्डीप्रसाद गण (शान्ति सेना) एघारौँ डफ्फालाई बदली गर्नका लागि श्री गरुड दल गण (शान्ति सेना) ‘एफआरबी’ १२औँ डफ्फाका १६५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली बुधबारै दक्षिण सुडानतर्फ प्रस्थान गरेको हो ।
दक्षिण सुडानको कठिन भौगोलिक र सुरक्षा वातावरणमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका १६५ जना सैनिकहरू बुधबारै काठमाण्डु आइपुगेका छन् ।
नेपाली सेनाले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति कायम गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । हाल दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाका कुल १ हजार ७८ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् । नेपाली सैनिकहरूले आफ्नो व्यावसायिक दक्षता, अनुशासन र मानवीय सेवाका कारण अन्तर्राष्ट्रिय स्तरमै उच्च प्रशंसा पाउँदै आएका छन् ।




प्रतिक्रिया