काठमाण्डु – रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण आईतबार प्रधान सेनापति अशोक राज सिग्देलले उद्घाटन गरेका छन् ।
समारोहमा मन्तव्य राख्दै रक्षा सचिव केदारनाथ शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको महत्व र आवश्यकताबारे प्रकाश पारे ।
२०८२ चैत्र १८ गतेसम्म सञ्चालन हुने तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल ३० जनाको सहभागिता छ । २०७२ सालबाट सुरु भएको तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भइसकेका छन् ।
समारोहमा नेपाल सरकारका सचिवहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, त्रिभुवन विश्वविद्यालयका रेक्टर तथा उच्च पदाधिकारीहरू, विभिन्न मन्त्रालय लगायत सरकारी/गैरसरकारी संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरू, रथीवृन्द, अधिकृत र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
यस किसिमको उच्चस्तरको तालिमले राष्ट्रिय सुरक्षाका सम्बन्धमा साझा बुझाई एवं धारणाको विकास गर्नुका साथै राज्यका संयन्त्रहरूबिच कार्यगत एकता कायम गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।




प्रतिक्रिया