काठमाण्डु – सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको ११औँ संस्करणको ’उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम’ मंगलबार समापन भएको छ ।
गत चैत १ गतेदेखि सुरु भएको विशेष तालिम १८ दिनसम्म सञ्चालन भएको हो ।
रक्षा मन्त्रालयको आयोजनामा सञ्चालित तालिममा विभिन्न मन्त्रालय, विश्वविद्यालय, सञ्चार जगत् तथा सुरक्षा निकायका गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका बहुआयामिक पक्षहरूमा समान बुझाइ तयार गरी राज्यका सम्पूर्ण संयन्त्रहरूबिच एकीकृत कार्यसंस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिमको समापन गर्दै प्रधान सेनापति अशोकराज सिग्देलले सहभागीहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरे । उनले यस्तो तालिमबाट राष्ट्रिय सुरक्षाका विषयमा साझा धारणा विकास हुने विश्वास व्यक्त गरे । उनले भने, ‘विभिन्न निकायहरूले समन्वय र सहकार्यका साथ गर्ने एकीकृत प्रयासबाट मात्र राष्ट्रिय सुरक्षा नीतिहरूको सफल कार्यान्वयन सम्भव छ ।’
समापन समारोहमा पूर्व प्रधानसेनापति, रक्षा सचिव, विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षक, रथीवृन्द, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
राष्ट्रिय सुरक्षाका आयामहरूमा नागरिक–सैनिक सम्बन्ध र अन्तरनिकाय समन्वय सुदृढ बनाउन विक्रम संवत् २०७२ सालबाट तालिम सुरु गरिएको थियो । हालसम्म उच्चस्तरीय तालिमबाट राज्यका विभिन्न निकायका २८२ जना विशिष्ट व्यक्तिहरू प्रशिक्षित भइसकेका छन् ।




प्रतिक्रिया