सेनाको मैत्रीपूर्ण खुला भलिबल प्रतियोगितामा सेनाकै वर्चस्व

सेनाको मैत्रीपूर्ण खुला भलिबल प्रतियोगितामा सेनाकै वर्चस्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – मुगुको रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मद्वारा आयोजित गरिएको मैत्रीपूर्ण खुला भलिबल प्रतियोगितामा सेनाको वर्चस्व देखिएको छ ।

चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाएका थिए । ३ दिनसम्म चलेको प्रतिस्पर्धामा नेपाली सेनाको देवीदत्त गण (ख) गुल्म सुसेमुको ‘बी’ टीम प्रथम, सोही गुल्मको ‘ए’ टीम द्वितीय तथा हनुमान ध्वज गुल्म, हुटु तृतीय स्थान हासिल पार्न सफल भए ।

चैत २७ गते सम्पन्न फाइनल खेलमा देवीदत्त गण (ख) गुल्म‘ए’ र ‘बी’ टीमबिच कडा प्रतिस्पर्धा भएको थियो । पहिलो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले ‘ए’ टीम विजयी भयो भने दोस्रो सेट २५–१६ र चौथो सेट २५–२२ ले ‘बी’ टीमले जीत हात पार्‍यो । अन्तिम तथा निर्णायक पाँचौँ सेटमा ‘बी’ टीमले १५–१२ को अन्तरले जीत निकाल्दै उपाधि कब्जा गर्न सफल भएको छ ।

तेस्रो स्थानका लागि भएको खेलमा हनुमान ध्वज गुल्मले सीडीएस फार्कलाई पराजित गरेको थियो ।

खेलाडीहरूलाई स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल मूल नारालाई आत्मसात गर्दै नियमित खेल खेलिरहन समेत खेलाडीलाई आग्रह गर्दै नेपाली सेनालाई आउँदा दिनहरूमा थप विभिन्न खेलको आयोजना गरी नेपाली सेनाका विभिन्न कार्यहरू पनि नागरिकहरूसँगै जोड्न समेत आग्रह गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने ‘बी’ टीमलाई नगद १० हजार रुपैयाँसहित ट्रफी, द्वितीय हुने ‘ए’ टीमलाई नगद ७ हजार रुपैयाँ र तृतीय हुने टोलीलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट स्पाइकर उमर चन्द र उत्कृष्ट लिबेरो जमदार नन्द गाहामगरलाई पनि नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार छायानाथ रारा नगरपालिकाकी उपमेयर ऐश्वर्य मल्ल शाहीले वितरण गरेकी थिइन् ।

सेना र समुदायबिचको सम्बन्धलाई खेलकुदमार्फत थप सुदृढ बनाउने उद्देश्यले पहिलोपटक प्रतियोगिता आयोजना गरिएको सेनानी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि समुदायस्तरका युवाहरूको सहभागिता बढाउने गरी विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने उनले बताए ।