सेनाको ‘अभ्यास हातेमालो–८’ सम्पन्न, विपद् प्रतिकार्यमा सहकार्य र समन्वयमा जोड

सेनाको ‘अभ्यास हातेमालो–८’ सम्पन्न, विपद् प्रतिकार्यमा सहकार्य र समन्वयमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपद् व्यवस्थापनमा संलग्न सबै सरोकारवाला निकायहरूबिच सहकार्य, समन्वय र सम्पर्क अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाद्वारा सञ्चालित ‘अभ्यास हातेमालो–८’ बुधबार सम्पन्न भएको छ ।

नेपाली सेनाको जङ्गीअड्डामा गत वैशाख २१ गतेदेखि सुरु भएको अभ्यासको बलाधिकृत रथी प्रदिपजङ्ग केसीले विशेष समारोहबिच समापन गरे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बलाधिकृत रथी केसीले ३ दिनसम्म चलेको अभ्यासका क्रममा विषयविज्ञ तथा सरोकारवालाहरूबाट भएका प्रस्तुतीकरण र सक्रिय सहभागिताले लक्षित उद्देश्यहरू हासिल भएको विश्वास व्यक्त गरे । उनले यस प्रकारका कार्यक्रमहरूले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सबै निकायबिच सहयोग र सहकार्यको परम्परालाई स्थापित गर्न थप मद्दत पुग्ने बताए ।

आगामी वर्षायाममा हुन सक्ने बाढी, पहिरो जस्ता सम्भावित विपद्का परिदृश्यहरूमा आधारित रही अभ्यास सञ्चालन गरिएको थियो । विपद्को समयमा कसरी प्रभावकारी रूपमा प्रतिकार्य गर्ने र धनजनको क्षति न्यून गर्ने भन्ने विषयमा सहभागीहरूले सामूहिक छलफल र अभ्यास गरेका थिए ।

३ दिवसीय अभ्यासको आठौँ संस्करणमा रक्षा मन्त्रालय, गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो । नेपाली सेनाका रथीवृन्द, विभिन्न मन्त्रालय, सरकारी निकाय, स्थानीय तहका प्रतिनिधिहरूका साथै नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले समेत यसमा भाग लिएका थिए ।

नेपाली सेनाले हरेक वर्ष सञ्चालन गर्दै आएको ‘हातेमालो’ अभ्यासले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकाय र नागरिक प्रशासनबिचको कार्यगत एकतालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।