कञ्चनपुरका पाँच विद्यालयका विद्यार्थीलाई सेनाकाे सेवा दल तालिम

कञ्चनपुरका पाँच विद्यालयका विद्यार्थीलाई सेनाकाे सेवा दल तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ—कञ्चनपुरको भीमदत्तनगरका ५  विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवा दल तालीम दिन थालेको छ । भगतपुरस्थित सेनाको सिंहशार्दूल गुल्मले वैजनाथ माध्यमिक विद्यालय, सनराइज पब्लिक उच्च मावि, न्यू सरस्वती मावि, लिटिल स्टार र इन्टरनेशनल बोर्डिङ स्कूलबाट छनोट गरिएका विद्यार्थीलाई बिहीबारबाट तालिम दिन शुरू गरिएकाे हाे।  तालिममा १८ छात्रा र १८ छात्र गरी ३६ विद्यार्थी  रहेका छन्। विद्यार्थीलाई ११ प्रशिक्षकबाट राष्ट्रिय सेवा दलको जुनियर तालीम दिन थालेको सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सह–सेनानी कृष्ण भण्डारीले जानकारी दिए।

सेनाको पश्चिम तालीम शिक्षालयद्वारा सञ्चालित ४६औँ जुनियर डिभिजन तालीमको आज सह–सेनानी भण्डारीले उद्घाटन गरे। नेपालमा विसं २०२२ देखि यस्तो तालीम प्रदान गरिँदै आएको छ । सह–सेनानी भण्डारीले तालीमले युवामा अनुशासित, इमान्दार र बफादारिताको भावना विकास गराउन मद्दत पुग्ने बताए।

विद्यार्थीलाई विभिन्न ब्यायाम, प्राथमिक उपचार, विपद् व्यवस्थापन, सामान्य युद्धकलालगायत सम्बन्धी तालीम दिइँदैछ । विसं २०२२ यता सिनियर र जुनियरतर्फ गरी ४३ हजार ६३२ छात्र÷छात्राले उक्त तालीम लिएको सह–सेनानी भण्डारीले बताए। एक सय दिनसम्म सञ्चालन हुने उक्त तालीम ७९ दिन विद्यालयमा तथा २१ दिन सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन गरिने सेनाले जनाएको छ । यसअघि पनि सेनाले यहाँका विभिन्न विद्यालयमा सेवा दल तालीम सञ्चालन गरेको थियो ।