पूर्वप्रधानसेनापति क्षत्री भन्छन्- चीनसहित मुलुकका सेनासँगको सम्बन्ध परराष्ट्र नीतिकै अधीनमा

पूर्वप्रधानसेनापति क्षत्री भन्छन्- चीनसहित मुलुकका सेनासँगको सम्बन्ध परराष्ट्र नीतिकै अधीनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—प्रधानसेनापति पूर्णचन्द्र थापा १ असारदेखि चीन भ्रमणमा रहेका बेला पूर्वसेनापति राजेन्द्र क्षत्रीले त्यहाँको जनमुक्ति सेनासँगको सम्बन्ध परराष्ट्र नीतिको अधिनमै रहेको टिप्पणी गरेका छन्।

बीबीसी नेपाली सेवाका पत्रकार शरद केसीसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘नेपाली सेनाले नेपालको परराष्ट्र नीति अनुसार सबै मित्र राष्ट्रहरूसँग सौहार्द सैनिक सम्बन्ध स्थापना गर्दै लैजाने सिलसिलामा विभिन्न मित्र राष्ट्रहरूसँग सैनिक सम्बन्ध कायम राख्दै आएको छ।’

 उनल परराष्ट्र नीतिको परिधिभित्र रहेर सैनिक सम्बन्ध बढाउने र परेको अवस्थामा सँगै काम गर्न पर्दा इन्टरअपरेबिलिटि (अन्तरसञ्चालन) हासिल गर्ने सिलसिलामा हामीले निकट छिमेकी राष्ट्र चीनसँग पनि सगरमाथा फ्रेन्डशीपको नाममा संयुक्त अभ्यास गरिएको बताएका छन्।

त्यस लगत्तै पत्रकार केसीले प्रश्न गरेका छन्—तपाईँले त्यसो भने पनि त्यो (अभ्यास) सुरु हुनुअघिको पृष्ठभूमि हेर्दा एउटा त भूकम्पका बेला चिनियाँ सेनाको सहयोग र अर्को दक्षिणी छिमेकी भारतले लगाएको नाकाबन्दी अनि त्यसप्रति नेपाली राजनीतिक तहमा देखा परेको असन्तुष्टि छन्। कतै त्यो प्रकरणले पो काम गरेको हो कि चिनियाँ सेनासँग हात बढाउनलाई?

क्षत्रीको जवाफ छ, ‘बृहत् सेना भएको चीनसँग हामीले पनि केही सिक्न सक्छौँ र भोलिका दिनमा सहकार्य गर्न सहज होस् भन्ने उद्देश्यले हाम्रो परराष्ट्र नीतिकै अधीनमा रहेर त्यो गरिएको हो। त्यसमा अरू केही अभीष्ट राखेर गरिएको होइन।

नेपाली सेनाले पञ्चशीलमा आधारित भएको असंलग्न परराष्ट्र नीति नबिर्सिएको उनले उल्लेख गरेका छन्। सोही किसिमको बटालियन स्तरको संयुक्त अभ्यास अगाडि देखि नै भारतसँग भइरहेको र आफ्नो कार्यकालमा विशेष फौजको थप अभ्यास तथा साहसी अभ्यास एवम् तालिममा पनि भाग लिइएको उनले बताएका छन्।

‘एक सानो स्तरको अभ्यास पाकिस्तानसँग पनि गरिएको छ भने अमेरिकासँग विभिन्न किसिमको संयुक्त अभ्यास स(साना स्तरमा नितान्त सेनाको व्यावसायिक विकासका निम्ति गरिएका छन्। चीनसँगको अभ्यासलाई पनि यसैभित्र रहेर गरिएको क्रियाकलापको रूपमा हेर्दा राम्रो हुन्छ,’ उनले अगाडि भनेका छन्।