देशको सेवा गर्दा सैनिकको खुट्टा गुम्यो, घर बनाउने सपना अधुरै !

देशको सेवा गर्दा सैनिकको खुट्टा गुम्यो, घर बनाउने सपना अधुरै !


दीपक बोहरा

दाङ – दाङको दंगीशरण गाउँपालिका–२ का नोखिराम विक नेपाली सेनामा जागिरे भएपछि घर बनाउने सपना बोकेका थिए ।

जागिरे जीवनको १४ वर्ष चल्दै थियो । ‘रिटायर्ड’ हुन ६ वर्ष बाँकी रहँदा पनि उनको त्यो सपना पूरा हुन सकेन्, उल्टै उनको जीवनमा बज्रापात भयो । ‘फास्ट ट्रयाक’का लागि नजगढमा सडक बनाउने काम चलिरहेका बेला ढलेको रुख उनको खुट्टामा प¥यो । गम्भीर घाइते भएका उनको उपचार गराउँदा पनि खुट्टा निको भएन्, उल्टै खुट्टा काट्नु प¥यो । त्यसपछि उनका सपना, सपनामा नै सीमित बने ।

“मैले सेनामा जागिर हुँदा एउटा घर बनाउँला भन्ने सोचेको थिए” उनले भने, “तर उल्टै खुट्टा नै गुमाउनु प¥यो ।” अहिले उनका दुई सन्तान छन् । एउटा छोरी र एउटा छोरा छ । उनीहरुलाई कसरी पढाउने भन्ने चिन्ता छ । “आफ्नो घर छैन, बजारमा भाडामा बस्दै आएको छुँ, दैनिकी चलाउन निकै समस्या हुने गरेको छ” उनले भने, “छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ ।” देशकै सेवा गर्ने क्रममा आफूले खुट्टा गुमाउनु परेको भन्दै राज्यले यसको क्षतिपूर्ति दिनुपर्ने उनको माग थियो ।

सैनिक सम्मेलन भेटघाटको सुनौलो अवसर

तीन/तीन वर्षमा यसरी सैनिक सम्मेलन हुनेगर्छ । दाङमा आइतबार सैनिक सम्मेलन भयो । जहाँ साविक राप्तीका भुतपूर्व सैनिकहरुको सहभागिता थियो । यो सम्मेलनले भूतपूर्व सैनिकहरुका बीचमा भेटघाट, चिनजान र अनुभव साट्ने सुनौलो अवसर प्रदान भएको भूतपूर्व सैनिक अम्मरबहादुर श्रेष्ठले बताए ।

“तीन वर्षअघिदेखि यसरी सैनिक सम्मेलन हुने गरेको छ” उनले भने, “यसले पूर्वसैनिकहरुका अनुभव आदानप्रदान गर्ने एउटा सुनौलो अवसर प्राप्त हुने गरेको छ ।” यो पूर्वसैनिकहरुका कुराहरु राज्यलाई सुनाउने माध्याम पनि बनेको उनले बताए । अहिले आफूहरुलाई राज्यले दिएको सेवा सुविधाप्रति सन्तुष्ट रहेकोसमेत उनको भनाइ थियो ।