काठमाण्डु – बाजुराको बडीमालिका दर्शन गर्न गएका ३ जना तीर्थयात्रीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।
बडीमालिका दर्शन गर्न गएका तीर्थयात्रीलाई लेक लागेर अक्सिजन अभाव भएपछि सेनाको हेलिकप्टरमार्फत आज बिहीबार उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
लेक लागेर अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएको अवस्थामा फेला परेका कैलालीका एक दम्पती र बडीमालिकाको दर्शन गरेर फर्किएकी जुम्लाकी एक महिलाको घाइते अवस्थामा उद्धार गरिएको दुर्गा भञ्जन गुल्मका सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए ।
सेनाको मेडिकल क्याम्पमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा ल्याइएको छ ।
उद्धार गरिएकामा कैलालीको अत्तरिया बस्ने ६३ वर्षीय ईश्वरी बोहरा र उनकी पत्नी ५२ वर्षीया गंगादेवी बोहरा तथा जुम्लाको चन्द्रनाथ नगरपालिका–२ की ४६ वर्षीया विनुदेवी बस्नेत रहेका छन् ।




प्रतिक्रिया