टोर्नेडोपीडितलाई गाउँमै भेट्दै प्रधानसेनापतिले भने–जग्गा उपलब्ध गराउनुस्, सेनाले दुई महिनामै घर बनाउँछ

टोर्नेडोपीडितलाई गाउँमै भेट्दै प्रधानसेनापतिले भने–जग्गा उपलब्ध गराउनुस्, सेनाले दुई महिनामै घर बनाउँछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा गत चैत १७ गते २८ जनाको ज्यान जाने गरी बारा र पर्सामा पर्सामा आएको टोर्नेडोपीडितलाई भेट्न गाउँमै पुगेका छन्।

सरकारले पीडितको घर बर्खा अगावै निर्माण गर्ने गरी नेपाली सेनालाई जिम्मा दिइसकेका बेला थापा सोमबार लेपर्सा र बाराका गाउँ पुगेका हुन्। हुरी प्रभावितलाई भेटेर थापाले घर निर्माणका लागि जति सक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गरे।

निर्माण सुरु भएको दुई महिनामै घर निर्माणको काम सकेर पीडितहरूलाई हस्तान्तरण गर्ने लक्ष्य सेनाले लिएको प्रधानसेनापति थापाले बताए।

‘लाजपूर्जा भएको नम्बरी जग्गा नभएका पीडितहरूका लागि भने सामूहिक आवास बनाउने योजना रहेको छ’, उनले भने।

एलानी जग्गा भएकाको हकमा प्रमुख जिल्ला अधिकारी र पालिकाका प्रमुखसँग छलफल गरेर जग्गा उपलब्ध गराइदिए सुकुम्बासी पीडितहरूका लागि सामूहिक आवास बनाइने उनले बताए।

निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालसहितको सहभागिता थियो।

घटनामा दुबै जिल्लाका १ हजार २ सय २६ घरमा पूर्ण क्षति पुगेको थियो भने १३ सय घरमा आंशिक क्षति पुगेको थियो।

प्रधानसेनापति थापाले सोमबार नै बारास्थित चन्दननाथ गण र पर्सास्थित चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गरेका थिए। उनी सोमबार नै काठमाडौं फर्किएका छन्।