प्रधानसेनापतिविरुद्ध सेनाका उपरथीले दिए रक्षामा उजुरी

प्रधानसेनापतिविरुद्ध सेनाका उपरथीले दिए रक्षामा उजुरी


काठमाण्डु – नेपाली सेनाका उपरथीले प्रधानसेनापतिविरुद्ध उजुरी दिएका छन् । सेनाका उपरथी अनन्त कार्कीले प्रधासेनापति प्रभुराम शर्माविरुद्ध रक्षा मन्त्रालयमा उजुरी दिएका हुन । कार्कीले त्यसको बोधार्थ प्रधानमन्त्री कार्यालयमा समेत पठाएका छन् ।

प्रधानसेनापति शर्माले यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफु निकट उपरथी कार्कीको ६ महिनाअघि नै पदावधि थपका लागी रक्षामा सिफारीस गरेका थिए । तर, शर्माले उनको सिफारीस रद्द गर्दै उपरथीहरु सिताराम खड्का र ताराध्वज पाण्डेको पदावधि थपका लागी रक्षामन्त्रालयमा पत्राचार गरेका हुन ।

‘सेनामा पदावधि थपको लागी बढीमा एक महिना अघि बोर्ड बसेर सिफारीस गर्ने चलन छ । तर, कार्कीको हकमा एक वर्ष अघि नै बोर्ड बैठक बसेर रक्षामा सिफारीस गरिएको रहेछ । यो भन्दा बिधी मिच्ने काम अरु के हुन सक्छ । ’सेनाका एक उच्च अधिकारीले काठमाण्डुपाटीसंग भने ।

तत्कालिन प्रधानसेनापतिसंग निकट रहेका उपरथी कार्कीको पदावधि थप हुन नसक्ने देखेका थापाले उनको पदावधि थपको लागी एक वर्ष अघि नै रक्षामा सिफारीस गरिनुलाई सेनामा आश्चर्यका साथ हेरिएको थियो । त्यसपछि शर्माले पुरानो निर्णयलाई रद्द गर्दै रक्षामा नयां सिफारीस गरेका हुन । जसमा कार्कीको नाम समावेश थिएन ।

उपरथी कार्कीले उनको निर्णय विरुद्ध रक्षामा उजुरी दिएका हुन । सैनिक ऐनमा सैनिक अधिकारीको पदावधि थप गर्न पाउने अधिकार प्रधानसेनापतिलाई दिइएको छ । सेनामा कार्की विवादित जर्नेल हुन । मुख्यमन्त्री शेरधन राईको अगाडी नै चुरोट खाएर पदिय मर्यादामा नबसेको आरोप समेत उनिमाथी लागेको थियो ।

उनी नीतिमा हुंदा आर्थिक विवादमा समेत आएका थिए । त्यसपछि हालका प्रधानसेनापति शर्माले उनको अवधि नपुग्दै सरुवा गरेका थिए । कार्की यसअघि हालका प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुंदा उनको एडिसी बसेका थिए ।

कार्कीको पदावधी थप भए उनि तिन तारे जर्नेल समेत बन्ने सम्भावना भएका अधिकृत हुन । तर, पदावधि थप हुने सम्भावना भने निकै कम छ । पदावधि थप नभएको अवस्थामा उनि यही माघ २३ मा अवकासमा जानेछन । सैनिक रेकर्डअनुसार उनको जन्ममिति २०२३ असार १५ गते रहेको छ भने सेनामा २०४३ फागुन ३ गते सैनिक क्याडेटका रुपमा कार्की भर्ना भएका छन् ।

सेनाका हालका रथी बालकृष्ण कार्कीले २०७९ असोजमा अवकास पाएपछि कार्कीको तीन तारे जर्नेलमा बढुवा हुने सम्भावना थियो । तर, उनको पदावधी थप नभएको अवस्थामा उपरथी सिताराम खड्का तिन तारे जर्नेल बन्ने लाइनमा छन् ।

कार्कीले पदावधि थपका लागी राजनीतिक वृतमा समेत सक्रियता बढाएको भन्दै प्रधानसेनापति शर्मा असन्तुष्ट छन् । मन्त्रिपरिषदको बैठकमा समेत पदावधि थपको बारेमा छलफल भएको स्रोतको दावी छ । प्रधानमन्त्री देउवाले उनको पदावधि थप नहुनुको कारणबारे प्रधासेनापतिसंग जवाफ मागेको बताइन्छ ।