प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिंदै

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित गरिने भएको छ ।

बिहान ११ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले जानकारी दिए ।

नेपाल र भारतबीच एक–अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो।

भारतीय सेनाका सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ । प्रधानसेनापति शर्माले राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको शुमकामना सन्देश भारतका राष्ट्रपति कोविन्दलाई दिने बताईएको छ ।

भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा हिजो बिहान भारत प्रस्थान गरेका प्रधानसेनापति शर्माले हिजोनै भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणे , रक्षा सचिव अजयकुमार, भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भिआर चौधरीसँग समेत भेटघाट गरेका छन् ।

भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । महारथी शर्मा यही कात्तिक २६ गते स्वदेश फर्कने कार्यतालिका छ ।