काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापालले नेपाली सेनालाई प्रणाली र पद्धतिमा सञ्चालन हुने संस्थाको रुपमा विकास गर्दै लैजाने बताएका छन् । बुधबार आफ्नो कार्यकाल दुई वर्ष पुगेको अवसरमा प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् ।
कोरोना संक्रमणलाई रोक्न नाकाहरुमा नेपाली सेना परिचालन गर्ने चर्चाका बीच प्रधानसेनापति थापाले भने, ‘यदि राज्यलाई आवश्यक पर्छ भने हामी त्यसका लागि पनि तयार र सक्षम छौं ।’ सैनिक कल्याणकारीकोष, पेट्रोलपम्प सञ्चालन, सडक निर्माण लगायत क्षेत्रमा सेनाको क्रियाशिलतालाई व्यापार गरेको अर्थमा नवुझ्न उनले आग्रह समेत गरे ।
‘हामीले यी क्षेत्रमा संलग्नता जनाएर व्यापार गरेका होइनौं । त्यसरी वुझिदिन भएन,’ उनले भने, ‘एउटा संगठनको प्रमुखको नाताले मेरो पिडा तपाइहरुलाई थाहा नहुन सक्छ कि दैनिक जागीर छोड्छु भनेर आउने मेरा सिपाही र अधिकृतहरुलाई रोक्न कति गाह्रो छ ।’
उनले सेवा सुविधा आकर्षक नहुँदा सेनामा जागीर छोड्ने र वाहिर जान्छु भनेर निवेदन दिनेको चाँप बढेको उल्लेख गरे । ‘हाम्रो राज्य त्यस्तो अवस्थामा पुगिसकेको छैन जसले अपेक्षा अनुरुपको सेवा सुविधा दिन सकोस् । त्यसकारण जागीर छोड्नेको संख्या बढेको हो । यदि हामीले कल्याणकारी कोष लगायतका क्षेत्रमा क्रियाशिलता जनाएनौं भने भोली सेनामा जागिर खान्छु भनेर को आउँछ ?’ प्रधानसेनापति थापाले भने,।
वाहिर प्रचार गरिएजस्तो सेनाले हाइड्रोपावर सञ्चालन गर्ने कुनै निर्णय नगरेको र त्यो छलफलमै रहेको समेत वताए । थापाले शुरुकै दिनदेखि आफु आफ्नो सोचाइमा स्पष्ट रहेको स्मरण गर्दै भ्रष्टाचारमा शुन्य सहनशिलताको निती अवलम्बन गरेको उल्लेख गरे ।उनले तीनवर्षे कार्यकाल सकिएपछि फेरि म्याद लम्ब्याउने या अर्को कार्यकाल दोहोर्याउने आफ्नो सोंच या रुचि नभएको स्पष्ट पारे ।

कोभिड १९ सम्बन्धी सुरक्षा मापदण्डहरुको पालना गर्दै आयोजित उक्त कार्यक्रममा प्रधानसेनापति थापाले सकल दर्जालाई सम्बोधन गरेका थिए । नेपाली सेनाका सबै युनिटहरुमा लाइभ मल्टिकाष्ट गरिएको उक्त सम्बोधनका क्रममा प्रधानसेनापति थापाले कार्यकालको पहिलो र दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्ति उपलब्धीहरुको समीक्षा गर्नुका साथै आगामी वर्षलाई सृदृढीकरण र दीगोपनको वर्ष घोषणा गर्दै आगामी कार्यक्रमहरुको बारेमा समेत जानकारी दिएका थिए ।

प्रधानसेनापति थापाको कमाण्ड आधारका रुपमा विगत दुई वर्षमा तयार भएका र कार्यान्वयन गरिएका विभिन्न कार्यविधि,निर्देशिका,तालिमका म्यानुअल र कमाण्डर एंव स्टाफहरुका लागि आवश्यक सन्दर्भ सहितको पुस्तिकाहरुको संग्रह लगायतको विमोचन समेत गरेका थिए ।




प्रतिक्रिया