नेपाली सेनाको आकार स्वघोषित सुरक्षा विज्ञले गर्ने होइन, सरकारको काम हो : प्रधानसेनापति शर्मा

नेपाली सेनाको आकार स्वघोषित सुरक्षा विज्ञले गर्ने होइन, सरकारको काम हो : प्रधानसेनापति शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका बारेमा गलत तथा अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेकोप्रति असन्तुष्टि जनाएका हुन् ।

‘नेपाली सेनाले संविधान सम्भव निर्वाह गरिएका जिम्मेवारीहरूको बारेमा बेला मौकामा कुनै वर्ग वा केही त्यसका अंशियारहरूले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यसका प्रचारहरू हुने गरेको तपाईं र हामीलाई यो सञ्चार तथा सामाजिक सञ्जालबाट प्रसारित हुने त्यस किसिमका भ्रामक प्रचारबाजीबाट तपाईं सबै टाढा रहनुपर्छ,’ उनले भने, ‘तपाईंहरूलाई जान्न इच्छा भएमा हाम्रा वेबसाइटहरू सम्बन्धित विभागका गरिएका परिपत्र, नेपाल सरकारबाट आएका आदेश तथा निर्देशनबाट नै प्रस्ट रूपमा कुरा बुझ्न सकिन्छ । अनर्गल प्रचारको पछि नलाग्नुहोला प्रधानसेनापति शर्माले भने ।’

त्यस्तै उनले ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ । न कि कुनै एनजिओ, आइएनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरूले गर्ने होइन नेपाल सरकारको काम हो भनेर भन्न चाहन्छु,’ शर्माले भने ।

बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्या यति, उति हुनुपर्छ भन्नेमा कुनै सत्यता नरहेको प्रधानसेनापति शर्माले स्पष्ट पारे ।

‘समय-समयका कसको इसारामा हो, बाहिरी व्यक्तिहरूबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ, यस्तो साइजको हुनुपर्छ र अन्य नचाहिँदो किसिमका कुराहरू पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ । यो हेर्दा हास्यास्पद हो भन्ने कुरा हो भन्न चाहन्छु,’ उनले भने ।

नेपाली सेनाले देशको अर्थतन्त्रमा गरेको योगदान र कल्याणकारी कामबारे भने सुरक्षा विज्ञहरुले कतै पनि उल्लेख नगरेको शर्माको भनाइ छ ।