प्रधानसेनापति थापाले उद्घाटन गरे सुपथ मूल्य पसल


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगीअड्डामा सुपथ मूल्य पसल उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डाको हाताभित्र नव निर्मित पसलको उद्घाटन गरेका हुन् ।

सैनिक कल्याणकारी योजना अन्तर्गत स्थापना भएको बसुन्धारा क्यान्टिनलाई सुपथ मूल्य पसलका रुपमा संचालनमा ल्याइएको सेनाले जनाएको छ। बसुन्धारा क्याण्टिनलाई प्रधानसेनापतिको मार्ग निर्देशन-२०७५ अनुसार सैनिक कल्याणकारी कोषको पहुंच र प्रभावकारिता अभिवृद्धि गरी हिताधिकारीहरुको आवास लगायत सेवाहरु विस्तार गर्ने योजना अनुरुप बसुन्धारा क्याण्टिनलाई सैनिक कल्याणकारी कोषको छाता मुनि ल्याई सुपथ मुल्य पसल (क्याण्टिन) को रुपमा संचालन ल्याइएको हो ।

नेपाली सेनाको हिताधिकारीहरुको लागि प्रथम चरणमा काठमाडौं उपत्यकामा र क्रमशः नेपाल राज्यभर सैनिक कल्याणकारी कोषको लगानीमा गैर नाफामूलक उद्देश्यले सहुलियत मुल्यको सैनिक क्याण्टिन संचालन गरिने नेपाली सेनाको योजना रहेको छ । यसै क्रममा हाललाई उपत्यका पृतना हेडक्वाटर  वीरेन्द्र अस्पताल र नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा उक्त क्याण्टिन संचालनको क्रममा रहेका छन् ।

 सैनिक व्यक्तिहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ संचालन गरिएको उक्त क्याण्टिनमा सैनिक पोशाकहरु, दैनिक आवश्यकताका सामानहरु लत्ता कपडा, ग्रोसरी, खाद्य वस्तु, ईलेक्ट्रोनिक्स, खेलकुदका सामानहरु, स्टेशनरी, होम अप्लाइन्सका सामग्रीहरु, सौन्दर्य तथा औषधोपचार सम्बन्धी सामान, दुई पाग्रें तथा चार पाग्रें सवारी साधनलगायत अन्य सामानहरु उपलब्ध हुनेछन् । उक्त क्याण्टिनलाई समयानुसार प्रविधियुक्त (POS तथा QR Code को प्रयोग) तथा आर्थिक कारोवारलाई पारदर्शी र सहज रुपमा संचालन गर्न मिलाइएको र विभिन्न कम्पनी तथा सप्लायर्सहरुसँग खरिद सम्झौता गरि सामान प्राप्त गर्ने क्रममा रहेको छ ।

आगामी दिनहरुमा नेपाली सेनाका युनिटहरुलाई आवश्यक पर्ने गुणस्तरिय सामानहरु, शान्ति सेनामा जाने युनिटहरुको क्याण्टिन संचालन र सैन्यहरुको लागि आवश्यक पर्ने सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य सामानहरुको संकलन तथा बिक्रि वितरण कार्यलाई प्राथमिकतामा राखी क्याण्टिन संचालन गर्ने योजना रहेको छ । उक्त उद्‍घाटन कार्यक्रममा नेपाली बलाधिकृत तथा बलाध्यक्ष रथीहरु, सैनिक श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरु, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा लगायत संचारकर्मीहरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।

 नेपाली सेनाको कल्याणकारी कोषद्वारा संचालित यस प्रकारको सुपथ मूल्य पसल (क्याण्टिन) बाट नेपाली सेनाको सैनिक कल्याणकारी कोषका हिताधिकारीहरु, सैनिक कल्याणकारी कोषबाट तलब भत्ता खाने करारमा नियुक्त गैर सैनिक कर्मचारीहरु (करारमा रहँदासम्म), रक्षा मन्त्रालयमा स्थायी दरवन्दी भएका निजामती कर्मचारीहरु (मन्त्रालयमा दरवन्दी रहुन्जेलसम्म) र सैनिक विद्यालय तथा महाविद्यालय, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरु (अध्ययन अवधिभर सिमित सुविधा मात्र) प्रत्यक्ष रुपमा लाभान्वित हुनुको साथै स्थानीय स्तरमा उत्पादन भएका कृषिजन्य सामानहरुको संकलन तथा बिक्रि वितरणबाट स्थानीय स्तरमा आर्थिक टेवा पुग्ने विश्वास समेत नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement