प्रधानसेनापति थापाद्वारा “अनेकौंका दृष्टिमा राष्ट्र निर्माता” नामक ग्रन्थको विमोचन

प्रधानसेनापति थापाद्वारा “अनेकौंका दृष्टिमा राष्ट्र निर्माता” नामक ग्रन्थको विमोचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – हरि प्रसाद सोडारीले सम्पादन गरेको “अनेकौंका दृष्टिमा राष्ट्र निर्माता“ नामक ग्रन्थको प्रधानसेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका छन् । विहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्मी अफिसर्स क्लब (सभामण्डप) मा आयोजित कार्यक्रममा विमोचन गरेका हुन् ।

उक्त अवसरमा प्रधानसेनापति थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको बताउंदै खोजपूर्ण लेखहरु सङ्कलन गरी प्रकासित उक्त ग्रन्थले नेपालको इतिहासको जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे ।

साथै उनले नेपाली नागरिकहरुलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रियता र एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलतामा एकीकरण मार्ग कार्यक्रम (Unification Trail) अन्तरगत नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग तथा एकीकरण अभियानसंग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धनमा टेवा र्पुयाउने लक्ष्यका साथ कार्यान्वयनका लागि व्यापक तयारी सुरु गरेको समेत जानकारी गराएका थिए ।

उक्त विमोचन कार्यक्रममा पूर्व मन्त्रीहरु, पूर्व उपकुलपतिहरु, पूर्व आयुक्तहरु तथा सचिवहरु, पूर्व प्रधानसेनापति तथा रथीवृन्दहरु, नेपाली सेनाका वहालवाला रथीवृन्द तथा अधिकृतहरु, पत्रकारहरु लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।