शक्ति राष्ट्रहरूसँग सम्बन्ध विस्तारमा नेपाली सेना


ठमाडौं– नेपाली सेनाले पछिल्लो समय शक्ति राष्ट्रका सेनासँग सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ।

भारत, चीन र अमेरिका लगायतका देशका सेनाबीच ‘सयुंक्त सैन्य अभ्यास’ हुँदै आएकोमा पछिल्लो पटक नेपाली सेनाले भ्रमणलाई तीब्रता दिएको हो। र, ती देशका सेना प्रमुख पनि नेपाल आउने क्रम बढेको छ।

यही क्रममा अमेरिकी चार तारे जर्नेल तथा प्यासिफिक कमान्डर रोबर्ट ब्रक्स ब्राउन र बेलायती सेनाका प्रमुख निकोलस प्याट्रिक कार्टर नेपालमा छन्।

कार्टर बुधबार र ब्रक्स बिहीबार नेपाल आउँदा भारतीय सेनाका प्रमुख विपीन राउत नेपाल आउने तयारीमा छन्। वीपीनले पटक पटक नेपाल भ्रमण गरिसकेका छन्।

कार्टर र ब्रक्सले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेट गरिसकेका छन्। पोखरामा हुन लागेको गोर्खा रिक्रुटको परेडमा भाग लिन नेपाल आएका कार्टरसोमबार बेलायत फर्किंदै छन्।

प्रधानसेनापति क्षत्रीले केही महिना यता श्रीलंका, बेलायत र अमेरिकाको भ्रमण गरिसकेका छन्। यसलाई सम्बन्ध विस्तारको रुपमा लिनुुपर्ने सुरक्षा विश्लेषकहरु बताउँछन्।

गत पुस १९ देखि २५ गते सम्म जाम्बिया सेनाका प्रमुखले नेपाल भ्रमण गरेका थिए।

भारतीय सेनाका प्रमुख राउतको आसन्न नेपाल भ्रमणलाई भारतीय मिडियाले ‘नयाँ सरकार’ सँग जोडेका छन्। उनी नेपाल सेनाको दिवस (शिवरात्रि) को अवसर पारेर नेपाल आउँदैछन्।

शिवरात्रीको दिन काठमाडौंको टुँडीखेलमा मनाइने सेना दिवसको कार्यक्रममा भाग लिन नेपाल आउन लागेको भारतीय मिडियाले जानकारी दिएको छ। नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेन दास प्रधानलाई भेट्दै छन्।

सोही भ्रमणका विषयमा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय रक्षा मन्त्रालयका एक पदाधिकारीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘नयाँ कम्युनिस्ट सरकार गठन अगाडि तीन देशका आर्मीका उच्च पदाधिकारीको नेपाल आगमनले भौगोलिक रणनीतिको महत्व उजागर गरेको छ।’

नेपालमा नयाँ सरकारको कोर्ष अगाडि बढिरहेका बेला फेब्ररी पहिलो साता भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भ्रमण गरेकी थिइन्।

रावत भारतीय सेनाको २७ औं सेनाध्यक्ष हुन्। रावत सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएका थिए। उनले यसअघि भारतीय सेनाका गोर्खा रेजिमेन्ट्को प्रमुखका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement