सेनाको पृतनापति सम्मेलनमा टर्कीको भूकम्प देखि सुरक्षा खतराबारे छलफल

सेनाको पृतनापति सम्मेलनमा टर्कीको भूकम्प देखि सुरक्षा खतराबारे छलफल


काठमाण्डु – नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०७९ सैनिक मुख्यालयमा शुरु भएको छ । सेनाले शिवरात्री पर्वभन्दा पहिले हरेक वर्ष जङ्गी अड्डामा पृतनापति बैठक गर्दै आएको छ । रक्षामन्त्री हरिप्रसाद उप्रेतिले आइतबार सम्मेलनको उदघाटन गरेका छन् ।

आठवटै पृतनाका पृतनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त दुई दिने समन्वयात्मक बैठकको दौरान सहभागीहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।

कार्यक्रममा रक्षामन्त्री उप्रेतीले २६० वर्षको गर्विलो ईतिहास बोकेको नेपाली सेनाले आफुलाई प्राप्त राष्ट्रिय सुरक्षा सम्बन्धी प्राथमिक जिम्मेवारीका साथै अन्य विविध दायित्वहरु प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताए ।

उनले विद्यमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा खतरा र चुनौतीहरुसँगै राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सृजना गर्न क्रियाशिल व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौतीको रुपमा रहेका हुँदा त्यस्ता बाह्य र आन्तरिक दुवै सुरक्षा खतराहरुलाई सुक्ष्म विश्लेषण र मूल्याङ्कन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहन उनले निर्देशन दिए ।

रक्षामन्त्रीले कमाण्ड अवधारणा यथावत राखी पुर्नस्थापित पृतनाहरुलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताए ।

नेपाली सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाडौं–तराई\मधेश द्रुतमार्ग सडक आयोजना लगायत विभिन्न करिडोरहरुको निर्माण कार्य समयमा नै सम्पन्न गर्न रक्षा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने मन्त्री उप्रेतीको भनाई थियो ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको कुरा बताए ।

प्रधानसेनापतिले विपद्ले विपत्ती मात्र निम्त्याउने नभई सुरक्षा फौजको प्रतिकार्य क्षमता समेत परिक्षण गर्ने गरेकोमा हालै पोखरामा भएको दुःखद हवाइ जहाज दुर्घटनाको दौरान विपद् प्रतिकार्यमा रहेका कतिपय ग्याव्सहरु उजागर भएको टिप्पणी गरे ।

उनले गत हप्ता टर्कीमा गएको विनाशकारी भूकम्पबाट उत्पन्न संकटले नेपालको विगतका तीता अनुभवहरुलाई फेरी झक्झक्याएको भन्दै विपद् प्रतिकार्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

शर्माले राष्ट्रिय गौरव तथा रणनीतिक महत्व बोकेका काठमाडौं–तराई\मधेश द्रुतमार्ग सडक आयोजना तथा विभिन्न करिडोरहरु यथाशिघ्र सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी दिए ।