रोशन खड्का, काठमाण्डु – नेपाली सेनाले पृतनापतिहरूको सम्मेलन बोलाएको छ। मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको निष्कर्ष निकाल्दै सेनाले बिहीबार पृतनापतिहरूको समन्वयात्मक बैठक राख्ने निर्णय गरेको हो। सम्मेलनमा सातै प्रदेशका प्रमुखहरू सहभागी हुनेछन्। साथै, सैनिक मुख्यालयमा कार्यरत जर्नेलहरू पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले मंगलवार र बुधवार सबै पृतनाका पृतनापतिहरूसँग टेलिफोन संवाद गरेका थिए। उनले सुरक्षा अवस्थाको जानकारी लिनुको साथै स्थिति जटिल भएको भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। प्रत्येक पृतनापतिसँग उनले पाँच–पाँच मिनेट कुराकानी गरेको बताइएको छ।
बिहीबार सैनिक मुख्यालयमा पृतनापतिहरूले भिडियो कन्फरेन्समार्फत आफ्नो जिम्मेवारी क्षेत्रको रिपोर्टिङ गर्नेछन् । साथै वर्तमान अवस्था र भविष्यमा आउन सक्ने चुनौतीहरूबारे छलफल हुने छ। बैठकमा विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूको सुझाव पनि लिइने कार्यक्रम छ।
प्रधानसेनापति सिग्देलले नियमित रूपमा डिजिएमओ अनुपजंग थापा र डीएमओ मनोज थापासँग पनि बैठक गर्दै आएका छन्। सम्मेलनमा पृतनापतिहरू किरण केसी (सुदूरपश्चिम), दीपेन्द्र शाह (कर्णाली), प्रेम पुन (बुटवल), मधुकर कार्की (पोखरा), हरेन्द्र पाठक (हेटौडा), रविन्द्र कार्की (उपत्यका), कृष्ण जिसी (मधेस प्रदेश–महोत्तरी ) र गौरव केसी (इटहरी) सहभागी हुनेछन्।
प्रधानसेनापति सिग्देलले सम्मेलनकोअघिल्लो दिन प्रधानमन्त्री सुशिला कार्कीसँग छलफल पनि गरेका थिए। भदौ २४ मा देशमा भएको घटनापछि प्रधानसेनापति सिग्देलकै सहजीकरणमा अन्तरिम सरकार गठन भएको थियो। उनले विभिन्न पक्षसँग वार्ता गरेर देशका समस्या समाधानमा भूमिका खेलेका थिए।
सेनाले शान्ति सुरक्षाको अवस्था सामान्य बनाएपछि नयाँ सरकार गठन भएको थियो। तिहारपछि देशमा आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सेनाले आन्तरिक तयारीलाई अझ मजबूत बनाउन लागेको सैनिक स्रोतले बताएको छ।




प्रतिक्रिया