आइतबारबाट बिदामा बस्दै सेनाका रथी राणा, ताराध्वज पाण्डे रथी बन्ने लाइनमा

आइतबारबाट बिदामा बस्दै सेनाका रथी राणा, ताराध्वज पाण्डे रथी बन्ने लाइनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाली सेनाका रथी सरोजप्रताप राणा आइतबारदेखि विदामा बस्दैछन् । सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृतरथी राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबारबाट विदा बस्न लागेका हुन् । सेनामा राणासंगै अर्का रथी सिताराम खड्का समेत छन् । उनि समेत उमेर हदका कारण आगामी पुस ३ मा अवकासमा जांदैछन् ।

नेपाली सेनामा राणाको पदावधि थपको चर्चा चलेपनि राणाको पदावधि भने थप भएन् । उनि २०७८ कात्तिक ११ मा सेनाको रथीमा बढुवा भएका थिए । सेनाले राणालाई अवकासको पत्र दिइसकेको सैनिक स्रोतले जानकारी दिएको छ ।

सेनामा रथीको कार्यकाल सकिनु १५ दिनअघि बिदामा बस्ने प्रचलन छ । राणाले प्रधानसेनापति शर्मालाई आफु आइतबारबाट विदामा बस्न लागेको जानकारी दिइसकेको निकट स्रोतले बतायो ।

राणाको पदावधि थप भएको अवस्थामा उनि आगामी मंसिर २६ सम्म सेनाको रथीमा कार्यरत हुने अवस्था थियो । तर, उनको पदावधि थप भएको अवस्थामा भावी प्रधानसेनापतिको रोलक्रम नै तलमाथि हुने भएकाले प्रधानसेनापति प्रभुराम शर्माले उनको पदावधि थप नगरेका हुन् ।

राणा बिदामा बसेसंगै रिक्त ठाउंमा वरियतामा अघि रहेका सेनाको युद्धकार्य महानिर्देशक रहेका उपरथी ताराध्वज पाण्डे रथीमा बढुवा हुनेछन् । पाण्डे भावी प्रधानसेनापतिका दावेदार हुन् । सेनाका बलाध्यक्षरथी खड्काले पुष ३ मा अवकास पाएपछि अर्का उपरथी अशोकराज सिग्देल सेनाको रथीमा बढुवा हुनेछन् ।

पाण्डे रथीमा बढुवा भएको तिन महिनापछि मात्र सिग्देल सेनाको रथीमा बढुवा हुने अवस्था भएकाले राणाको पदावधि थप सेनाको भावी नेतृत्वसंग जोडिएको थियो । कतिपयले पाण्डेलाई रोक्न पदावधि थपको खेल हुनसक्ने चर्चा गरेपनि प्रधानसेनापति शर्माले भने नियमित प्रक्रियालाई नै अघि बढाएका हुन् । सेनामा सैनिक अधिकारीहरुको पदावधि थप गर्ने नगर्ने अधिकार प्रधानसेनापतिमा निहित छ ।

हालका प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पुरा गरेर अवकास पाएसंगै पाण्डे र सिग्देलमध्ये एक जना सेनाको ४५ औं प्रधानसेनापति नियुक्त हुनेछन् । सेनामा अहिलेसम्म वरियतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा रहेकाले राणाको पदावधि थप नभएसंगै पाण्डेको प्रधानसेनापति बन्ने सम्भावना बलियो भएको छ ।