प्रधानसेनापति शर्माले दिए भारतका नवनियुक्त सेनाध्यक्ष पाण्डेलाई बधाई


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त भारतीय थल सेनाध्यक्ष मनोज पांडेलाई शुभकामना तथा बधाई दिएका छन् । बुधबार सैनिक मुख्यालय जंगी अड्डाबाट भिडियो कन्फरेन्समार्फत शर्माले समकक्षी पांडेलाई बधाई दिएका हुन् ।

शर्माले पांडेलाई हार्दिक बधाई ज्ञापनका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति शर्माले भिडियो कन्फरेन्सका दौरान नेपाली सेना र भारतीय सेनाबीच रहदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग रहेको उल्लेख गर्दै पांडेको कार्यकालमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उनले पांडेलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए । उक्त अवसरमा भारतीय थल सेनाध्यक्ष पांडेले प्रधान सेनापति शर्माले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई स्वीकार गरे । साथै, उनले आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेको सेनाले जनाएको छ ।

नेपाल र भारतका सेनाप्रमुखले एक अर्काको मानार्थ महारथी सम्मान गर्ने प्रचलन छ । त्यही प्रचलनअनुसार पांडे नेपालमा आएर उक्त सम्मान ग्रहण गर्ने छन् । शर्माले भने यसअघि नै भारत भ्रमण गरेर भारतीय स्थल सेनाध्यक्षको मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement