सेनाको ट्र्याकसुट खरिदमा अनियतिता,सैनिक नेतृत्व मौन


काठमाडौं- नेपाली सेनाले खरिद गर्न लागेको पोसाक खरिदको छनोट प्रक्रियामा सार्वजनिक खरिद ऐन मिचेर टेन्डर दिएको पाइएको छ।

ट्र्याक सुट खरिदका लागि आह्वान गरेको बोलपत्रमा आठवटा फर्म सहभागी भएकोमा सबैभन्दा धेरै दररेट राखेर बोलपत्र दिने फर्मलाई छनोट गरिएको भेटिएको छ।

नेपाली सेनाको सैनिक सामग्री प्र्राप्ति निर्देशनालयका निर्देशक सहायक रथी योगराज शर्माले हस्ताक्षर गरेको पत्रमा टेन्डर आह्वानमा दररेट कम राखेर बोलपत्र दिने फर्मलाई नराखी धेरै राख्ने फर्म छनोट गरिएको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

नेपाली सेनाले ९६ हजार ७६६ ट्र्याक सुटका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर बोलपत्र आह्वान गरेको थियो।

सहभागी आठवटा फर्ममध्ये सैनिक सामग्री प्राप्ति निर्देशनालयले श्लोक इन्टरप्राइजेज फर्मका प्रोपाइटर रितेश अग्रवालले हालेको १ हजार ५५१ रुपैयाँको दररेटलाई छनोट गरेको छ।

उनले हालेको बोलपत्रअनुसार १५ करोड ८४ हजार ६० रुपैयाँमा नेपाली सेनाको ट्र्याक सुट खरिदका लागि प्र्रभावकारी देखिएको भन्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) बमोजिम आशयपत्र सैनिक निर्देशनालयले दिएको थियो।

अग्रवालले दुई फरक फर्मबाट पोसाक खरिदका लागि टेन्डर हालेका थिए । उनले हालेको एस के फर्म पनि रितेश अग्र्रवालकै नाममा रहेको छ । एसके ट्रेडर्स फर्मबाट उनले १ हजार ५८६ रुपैयाँ दररेटमा १५ करोड ३४ लाख ७० हजार ८७६ रुपैयाँसहितको टेन्डर हालेका थिए।

कानुनी परीक्षण, पूर्णता परीक्षण र प्राविधिक परीक्षणमा क्लियर भएका आधारमा सो फर्म छनोट गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार यी सबै परीक्षणपछि लागत अनुमानभन्दा कम दररेटमा परेको मध्येबाट छनोट गरिएको हो।

आठ फर्ममध्ये सबैभन्दा कममा टेन्डर हाल्ने जेएमबीडी इन्टरनेसनल फर्मका सञ्चालक राजमान मिश्रले १ हजार २६२ रुपैयाँका दरले ट्र्याकसुट खरिदका लागि बोलपत्र दिएका थिए । सो दररेटअनुसार जेएमबीडी फर्मले १२ करोड २१ लाख १८ हजार ६९२ रुपैयाँमा खरिद गर्न सक्ने गरी टेन्डर हालेकोमा नेपाली सेनाले अस्वीकृत गरेको छ।

सेनाले कम दररेटलाई छाडेर बढी दररेटलाई छनोट गर्दा २ करोड ७९ लाख ६५ हजार ३७४ रुपैयाँ बढी भएको फर्मलाई छनोट गरेको हो ।
कम टेन्डरलाई छनोट नगरी धेरै रेट राख्नेलाई किन छनोट गरियो भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्नेमा सो जानकारीसमेत नेपाली सेनाले दिएको छैन।

पोसाक खरिदमा सबै मापदण्ड पुगेपछि मात्रै टेन्डरमा राखिन्छ । ‘सबै फर्मले खरिद गर्न लागेको नेपाली सेनाको पोसाकमा गुणस्तरसमेत मिलेको पाइँदैन,’ स्रोतले भन्यो, ‘कपडाका लागि जुनस्तर हुनपर्ने हो, त्यो गुणस्तर खरिद गर्न लागेको पोसाकमा पाइँदैन।’

प्रतिक्रिया दिनुहोस
Advertisement