कोरोना भाइरस संक्रमणबाट जोगिन २१ सय सैनिक क्‍वारेन्टाइनमा


काठमाडौं – जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २१ सयभन्दा बढी सैनिक अधिकारीलाई क्‍वारेन्टाइनमा राखेको छ। अन्य ३९ जना आइसोलेसनमा छन्।

कोरोना संक्रमणको जोखिम नहोस् भनेर सैनिक अधिकारीलाई क्‍वारेन्टाइन र आइसोलेसनमा राखिएको जंगीअड्डाले जनाएको छ। उनीहरू घर बिदा सकेर फर्किएका, तालिम सकाएका र कोही विदेशबाट फर्किएकाहरू हुन्। क्‍वारेन्टाइनमा बसेको १४ दिनपछि मात्र उनीहरूलाई सेनाको अर्को टोलीसँग मिसाइनेछ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले क्‍वारेन्टाइन र आइसोलेसनमा रहेका सैनिक अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। ‘आइसोलेसनमा रहेका केही सैनिक अधिकारीलाई सामान्य रूघाखोकी छ’, प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘हामीले कोरोना भाइरस संक्रमणको जोखिम नहोस् भनेर क्‍वारेन्टाइन र आइसोलेसनमा राखेका छौं। सबैको अवस्थामा सामान्य छ।’

मध्य पृतनामा ४, मध्यपश्चिम पृतनामा १८, उत्तरपश्चिम अनि सुदूरपश्चिम पृतनामा ३÷३ र उपत्यका पृतनामा ११ जनालाई आइसोलेसनमा राखिएको छ। उनीहरू ३९ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जंगीअड्डाले जनाएको छ। नेपाली सेनाले आठवटै पृतनामा ५ सय ६ वटा आइसोलेसन कक्ष बनाएको छ। तीमध्ये सबैभन्दा बढी मध्य पृतनामा ८४ बेड क्षमताको आइसोलेसन कक्ष छ।

यस्तै, पूर्वी पृतनामा १ सय ९९, मध्यपूर्वी पृतनामा १ सय ९५ र मध्य पृतनामा ४ सय ६६ जना क्‍वारेन्टाइनमा छन्। पश्चिम पृतनामा २ सय ८८, मध्यपश्चिम पृतनामा १ सय २९, उत्तरपश्चिम पृतनामा ३ सय ६४, सुदूरपश्चिम पृतनामा २ सय ३ र उपत्यका पृतनामा ३ सय १२ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ। सेनाले उपत्यकासहित आठवटै पृतनामा ४ हजार २ सय ९० बेड क्षमताको क्‍वारेन्टाइन बनाएको छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement