काठमाडौं – नेपाली सेनाका तीन जना उपरथीहरुको सरुवा भएको छ । उपरथीहरु प्रभुराम शर्मा, राजेन्द्र कार्की र रघु भण्डारीको सरुवा भएको हो । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले नेपाली सेनाका तीन जना उपरथीहरुको सरुवा र एक जना सहायकरथीलाई उपरथीमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए ।
युद्धकार्य महानिर्देशनालयका महानिर्देशक रहेका उपरथी शर्मालाई संभाररथी विभाग, सम्भारमा रहेका भण्डारीलाई निती विभागमा र निती तथा योजना महानिर्देशनालयमा रहेका कार्कीलाई युद्धकार्य महानिर्देशकमा सरुवा गरिएको हो ।
त्यसैगरी सेनाका सहायकरथी निर्मलकुमार थापालाई उपरथीमा बढुवा गरिएको छ । उनि यसअघि सेनाको सैनिक सचिवको रुपमा कार्यरत थिए । सेनाका महासेनानी नारायण सिलवाललाई सहायकरथि र प्रमुख सेनानीद्धय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरिएको छ । सेनाका महासेनानी दिप सिंह र प्रावाधिक महासेनानी डा. अमित जोशीको राजिनामा समेत स्विकृत गरिएको छ ।




प्रतिक्रिया