काठमाडौं – नेपाली सेनाले बनाइरहेको निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको भनिएको अनियमितताको छाननिबन अन्तिम चरणमा पुगेको छ ।विकास निर्माण महानिर्देशनालयका तत्कालीन प्रमुख तथा पूर्व प्राविधिक उपरथी योगेन्द्र खाँण संलग्न अनियमितताको छानबिन अन्तिम चरणमा पुगेको सैनिक स्रोतले जनाएको छ ।
छानबिनमा गम्भीर अनियमितता देखिएकाले खाँणलाई छिट्टै सैनिक हिरासतमा राख्ने तयारी भइरहेको छ । खाँण छानबिन सुरु भएदेखि नै सेनाको निगरानीमा छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले धेरै गुनासो र उजुरी आएपछि द्रूतमार्गमा अनियमितता भएका पुराना फाइल खोलेर अनुसन्धान अगाडि बढाएका थिए । सेनापति थापाले छानबिनको जिम्मा बलाधिकृतरथी शरद् गिरीलाई दिएका छन् । महानिर्देशनालयमा रहँदा खाँणले आफन्तलाई फाइदा पु¥याएको र करोडौं अनियमितता गरेको आरोपसहित उजुरी जंगीअड्डामा परेको थियो ।
सेनापति थापाले सेनामा भएका अनियमितताका घटनाको छानबिन गर्ने प्रतिबद्धता सार्वजनिक रुपमै जनाएकाले दोषीमाथि कारवाही भएरै छाड्ने चर्चा नेपाली सेनाभित्र चलेको छ । छानबिनका क्रममा द्रूतमार्गमा अग्लो पुल र सुरुङ बनाउने काममा अन्तर्राष्ट्रिय टेन्डर गर्ने प्रचलन विपरीत खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर जमिन मिलाउने काममा मात्रै करोडौं घोटाला गरेको पाइएको छ ।
करोडौं खर्च हुँदा समेत आयोजनामा सन्तोषजनक काम नभएपछि खाँणमाथि अनियमितताको आरोप लागेको थियो । आयोजना प्रमुख रहँदा खाँणले विना योजना लाखौं वर्गफिट बाटो खन्न लगाउने, बिल बनाउने र पैसा दिने गरेको छानबिन भइरहेको उजुरीमा उल्लेख छ ।
छानबिनका क्रममा लिइएको बयानमा खाँणले आफूले सबै काम तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निर्देशनमा गरेको बयान दिएका छन् । छानबिनमा पूर्व सेनापति क्षेत्री समेत तानिने देखिएको छ । खाँणले आयोजनामा अनियमितता गरिरहँदा क्षेत्रीले समेत भ्रष्टाचार गर्न सघाएको देखिएको चर्चा सेनाभित्र छ । क्षेत्रीको सहमतिमा खाँडले अवैध तरिकाले आफू र उनी निकटका व्यवसायीलाई काम दिने गरेका थिए ।
खाँणले भन्ने गरेका छन्, ‘मैले जिम्मेवारीमा रहँदा संस्थाको हितमा रहेर गरेको हो । मैले कुनै नराम्रो काम गरेको छैन । सेनामा एकल निर्णय हुँदैन । चेन अफ कमाण्डका आधारमा निर्णय हुन्छ, मैले चिफ सा’प (राजेन्द्र क्षेत्री)कै निर्देशनमै सबै काम गरेको हुँ । सेनामा कलेक्टिभ इफोर्टमा काम हुन्छ ।’
खाँणले हाल सैनिक सेवाबाट अवकाश पाएपनि ६ महिनासम्म सैनिक ऐन आकर्षिक हुने भएकाले खाँणमाथि कारवाही प्रक्रिया अगाडि बढाइने सैनिक स्रोतले जनाएको छ । पूर्व सेनापति क्षेत्रीको नाम अनियमिततामा मुछिएपनि सेनाले तत्काल उनीमाथि छानबिन अगाडि बढाएको छैन । क्षेत्रीमाथि समेत आर्थिक अनिमितता गरेको आरोप लाग्दै आएको छ ।
सहायकरथी श्रेष्ठ जिम्मेवारीविहीन
प्रधानसेनापति थापाले अनियमितता र भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत भएपछि सेनाभित्र तरङ्ग उत्पन्न भएको छ । अनियमिततामा खाँणले पोलेका महानिर्देशनालयका पूर्व प्रमुख तथा बहालवाला सहायक रथी शरदलाल श्रेष्ठमाथि समेत सेनाले कारवाही प्रक्रिया अगाडि बढाएको छ । उपरथीको लाइनमा रहेका श्रेष्ठलाई प्रधानसेनापतिले जिम्मेवारी खोसेका छन्। श्रेष्ठको ठाउंमा विकास पोखरेललाई खटाइएको छ । ‘श्रेष्ठ अहिले छानविनमा मात्र तानिएका हुन्, उनि निर्दोष भए फेरी त्यहि जिम्मेवारीमा आउंछन् ।’ सैनिक स्रोतले काठमाडौंपाटीसंग भन्यो ।
सेनापति थापाले नेपाली सेनाको सकलदर्जालाई आचरण सुधार्न निर्देशन दिने गरेका छन् । उनले भन्ने गरेका छन्, ‘सही आचरण भएन भने जुन तहको कमाण्ड भएपनि झारेर काम लगाउँछु । टू डाउन (धेरै गिराउने) पनि हुनसक्छ ।’
पूर्व सेनापति क्षेत्री अमेरिका पलायन
द्रूतमार्गमा मुछिएपछि पूर्व सेनापति क्षेत्री अमेरिका पलायन भएका छन् । उनले अमेरिकाबाटै छानबिन र कारवाही प्रक्रियाबारे आफू निकटसँग जानकारी लिइरहेका छन् । क्षेत्रीले दशैं मनाउन अमेरिका गएको भनेपनि उनी तत्काल नेपाल आउने सम्भावना नरहेको स्रोतको दाबी छ । उनी छानबिनमा तानिनसक्ने देखिएपछि अमेरिका गएका जनाइएको छ ।
द्रूतमार्गमा अनियमितता भएको गुनासो वर्षाैंदेखि चल्दै आएपनि छानबिन हुन सकेको थिएन । सेनापति थापाले भने कारवाही प्रक्रिया अगाडि बढाएका छन् । तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीले द्रूतमार्गमा अनियमितता गरिरहेको जानकारी सेनापति थापाले पहिल्यै पाएका थिए ।
क्षेत्रीले आफू सेनापति हुँदा तत्कालीन रथी पूर्णचन्द्र थापाको नेतृत्वमा आयोजना अघि बढाउन उच्चस्तरीय संयन्त्र बनाएका थिए ।
थापालाई क्षेत्रीले सवै फाइलमा हस्ताक्षर गराउन खोज्दा उनले नगरेकोले सम्बन्ध विग्रेको चर्चा त्यतिबेला सैनिक मुख्यालयमा समेत थियो । क्षेत्रीले नियमविपरीत काम गर्न दबाब दिएपनि थापाले मानेका थिएनन् । त्यसपछि थापासँग क्षेत्री असन्तुष्ट बनेका थिए ।
द्रूतमार्ग अनियमिततामा खाँण पक्राउ पर्ने लगभग निश्चित भएपनि पूर्व सेनापति क्षेत्रीलाई थापाले पक्राउ गर्ने आँट गर्छन् कि गर्दैनन् भनेर सेनाभित्र चर्चा हुने गरेको छ । सबै सैनिक कर्मचारीले थापाको निर्देशन र निर्णयलाई पर्खेर हेरिरहेका छन् । क्षेत्रीले सेनाबाट अवकाश पाएको ६ महिनाभन्दा बढी भइसकेकाले उनलाई पक्राउ गर्न जटिलता हुनसक्ने समेत देखिएको छ ।




प्रतिक्रिया