सेनाभित्र ‘माओवादी’ छाया : गुपचुप दिइँदैछ विशेष सुविधा


काठमाण्डु – तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी शान्ति प्रक्रियामा आउँदा नेपाली सेनामा माओवादी लडाकूलाई पनि समायोजन गरियो । सेना समायोजनका क्रममा माओवादी लडाकूबाट सबैभन्दा उपल्लो पदमा पुग्ने सैनिक अधिकारी थिए यमबहादुर अधिकारी ‘प्रतीक्षा’ ।

माओवादी लडाकूहरू २०६९ चैत ३० गतेदेखि नेपाली सेनामा समायोजन हुँदा उनले महासेनानी पद पाएका थिए । उनीसँगै १ हजार ३१३ जना माओवादी लडाकू सेनामा समायोजन भएका थिए । सेनामा समायोजन भइसकेपछि उनी बढुवा हुँदै सहायक रथीसम्म पुगेका छन् ।

नेकपा माओवादी केन्द्र सम्मिलित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असोज १ गते उनलाई सहायक रथीमा बढुवा गरेको थियो । सैनिक नियमावलीमा भएको एक पटकका लागि सहायक रथीमा बढुवा दिन सकिने प्रावधानअनुसार उनलाई ‘विशेष पद’ सिर्जना गरी बढुवा गरिएको थियो । विशेष पदको पदावधि सकिएपछि स्वतः खारेज हुने भए पनि सरकारले उनको पदावधि बढाएको छ । बढुवाको प्रकृतिअनुसार उनको ४ वर्षे पदावधि असोज १ गते सकिँदै थियो ।

उतिबेला अधिकारीका लागि सेनाभित्र विशेष पद सिर्जना गरेर ४ वर्षे पदावधि तोकिएको थियो । शान्ति प्रक्रिया सहज टुंग्याउन उतिबेला विशेष पद सिर्जना गरिए पनि माओवादी सरकारले त्यसलाई लम्ब्याउँदै गएको छ । स्वतः खारेज हुने पदलाई लम्ब्याउँदै सरकारले राज्यमाथि आर्थिक दायित्व समेत बढाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनको पदावधि ३ वर्ष थपेको निर्णयको जानकारी नेपाली सेनामा पुगेको छ । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा उनको पदावधि थप्ने निर्णय सरकारले गरेको हो । अधिकारीले यसअघि हाइयर कमाण्ड कोर्स नगरेपनि उनलाई सहायकरथी बनाइएको थियो ।

प्रधानमन्त्री दाहालको आग्रहमा सेनापतिले उनको फाइल अघि बढाएको सैनिक स्रोत बताउंछ । नभए अधिकारीको हकमा विशेष निर्णय सम्भावना कम थियो । सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा उनको पदावधि थपिएको जानकारी दिइएको थिएन । नेपाली सेनाभित्र कुनै अधिकारीलाई विशेष र छुट्टै सुविधा हुँदैन तर माओवादी पृष्ठभूमिबाट आएका कारण अधिकारीले गुपगुप विशेष सुविधामा पदावधि थप पाएका छन् । यसरी सेनाभित्र माओवादी सरकारको छाया परेको छ ।

सेनामा अरु दरबन्दी भएका सहायकरथीको हकमा ४ वर्ष पदावधि सकिएपछि अरु ३ वर्ष पदावधि थप गर्न सकिने प्रावधान छ । तर, विशेष दरबन्दीको हकमा भने त्यो नियम लागु हुंदैन । सेनाका सहायक रथी अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशकमा कार्यरत छन् । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि थपिएको जानकारी आएको बताए । उनले अधिकारीको पदावधि थपको निर्णय विशेष भएको दावी गरे ।

‘उहांको यसअघि पनि विशेष दरबन्दी सिर्जना गरेर सहायकरथी बनाइएको हो । अहिले पदावधि पनि त्यही प्रकृतिकै हो ।’ सहायकरथी भण्डारीले काठमाण्डुपाटीसंग भने ।

धादिङ स्थायी ठेगाना भएको अधिकारी मशालको विद्यार्थी राजनीतिबाट माओवादी पार्टीमा लागेका थिए । माओवादी लडाकूमा हुँदा उनी जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्वमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement