भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीमा गरिएको विशेष चेकिङका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने मिनी बस चालक पक्राउ परेका छन् ।
मंगलबार गरिएको चेकिङमा यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाइरहेका ती चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा चेकिङ गरेको थियो । प्राविधिक परीक्षणका क्रममा चालकले लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका चालकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त जगाती पठाइएको छ ।
सार्वजनिक यातायात जस्तो संवेदनशील क्षेत्रमा आबद्ध चालकले नै लागुपदार्थ सेवन गर्नु गम्भीर अपराध र दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ । चालकको यस्तो लापरवाहीले सडकमा रहेका अन्य व्यक्ति र बसमा सवार यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले प्रहरीले यस्ता चेकिङलाई तीव्रता दिएको छ ।
ट्राफिक प्रहरीले सवारी साधन चलाउँदा चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल खबर गर्न यात्रुहरूलाई आग्रह गरेको छ । यस्तो अवस्थामा नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी दिन अनुरोध गरिएको छ ।




प्रतिक्रिया