ललितपुर – अनलाइन जुवा (सट्टाबाजी) र लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १ युवकलाई ललितपुरबाट पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा काठमाण्डु उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ललितपुर महानगरपालिका–४ शान्तिकुञ्ज मार्गस्थित डेरामा छापा मार्दा प्रमाणसहित गौरव स्याङ्तान पक्राउ परेका हुन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङ स्थायी घर भएका २६ वर्षीय स्याङ्तान ललितपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । प्रहरीले खानतलासी गर्दा उनको कोठाबाट नेपाली रुपैयाँ ९१ लाख ५० हजार नगदसहित विभिन्न उपकरण र लागूऔषध फेला परेको जनाएको छ । बरामद नगद ५०० र १ हजार दरका नोटमा राखिएको थियो ।
प्रहरीले कोठाबाट नोट गन्ने मशिन, तौल गर्ने तराजु, ११ थान मोबाइल सेट, १ थान ल्यापटप, १ थान आइप्याड, ८ थान एटीएम कार्ड, ‘चेवाङ्स प्ले ग्राउण्ड’ लेखिएको बोर्ड, र आइइएसम ४जी + एलटिई मोबाइल वाईफाई हटकट (पकेट राउटर) समेत बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा गाँजा करीब १ किलो ५०० ग्राम पदार्थ पनि फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सम्पूर्ण दशी प्रमाणसहित पक्राउ परेका स्याङ्तानलाई आवश्यक कारबाहीका लागि दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया