राजस्व छलीसहित विद्युतीय चुरोट बरामद, ३ जना पक्राउ

राजस्व छलीसहित विद्युतीय चुरोट बरामद, ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले अवैध रूपमा राजस्व छली गरी भण्डारण तथा कारोबार गरिएको विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको टोलीले काठमाण्डु महानगरपालिका–१५ चमतीस्थित भाडामा लिएको कोठामा गोदाम बनाएर राखिएको ठूलो मात्रामा भेप बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

पक्राउ परेकामध्ये निमा छिरिङ शेर्पा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ लिस्तीका ४० वर्षीय हुन् । उनी हाल काठमाण्डु महानगरपालिका–१६ बालाजुमा बस्दै आएका थिए । सोही अभियोगमा पक्राउ परेका अर्का व्यक्ति ५२ वर्षीय राम बहादुर गुरुङ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ ज्यामिरेका स्थायी वासिन्दा हुन् भने हाल काठमाण्डु महानगरपालिका–३२ पेप्सीकोलामा बसोबास गर्दै आएका थिए । पक्राउ परेका ४२ वर्षीय कृष्ण बहादुर गुरुङ सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–४ जुबुका स्थायी निवासी हुन्, उनी हाल बुढानिलकण्ठ नगरपालिका–१० कपनमा बस्दै आएका छन् ।

गोदाममा राखिएको एल्फबार (ईएलएफबीएआर) ब्रान्डको विद्युतीय चुरोट (भेप) २ हजार ८४५ थान भेटिएको छ, जसको अनुमानित मूल्य करीब २८ लाख ४५ हजार रुपैयाँ पर्छ । बिग म्याक्स (बीआईजीएमएएक्सएक्स) ब्रान्डको भेप १०० थान बरामद गरिएको छ, जसको मूल्य करीब १ लाख रुपैयाँ बराबर छ । माबोलो (एमएबीओएलओ) ब्रान्डको भेप पनि ८६० थान फेला परेको छ, जसको अनुमानित मूल्य ८ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यसरी गरी जम्मा ३ हजार ८०५ थान विद्युतीय चुरोट बरामद भएको छ, जसको कुल मूल्य करीब ३८ लाख ५ हजार रुपैयाँ हुन्छ ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार बरामद गरिएको सामग्री राजस्व छली गरी भण्डारण गरिएको ठहर भएकाले आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ ।