काठमाण्डु – सामाजिक सञ्जाल टिकटकमार्फत अफवाह फैलाएको आरोपमा २ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ र हाल काठमाण्डुको सिनामंगल बस्ने भारतको सितामढी घर भएका १९ वर्षीय अफ्ताव अन्सारी छन् ।
गत असोज ३० गते सजन श्रेष्ठले बागमती प्रदेश–०२–०५१ प ६३५४ नम्बरको एनएस मोटरसाइकलमा ‘क्रस फायर’ मोटरसाइकलको ह्याण्डल जडान गरी लापरवाहीपूर्वक चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पछिल्लो अनुसन्धानका क्रममा श्रेष्ठले अन्सारीको सहयोगमा TIK TOK ID : SS_VLOGS (@ssvlognp10) मार्फत समाजमा नकारात्मक प्रभाव पार्ने किसिमका श्रव्य–दृश्य सामग्रीहरू पोष्ट गरेको खुलासा भएको छ ।
यसरी गलत सूचना र अफवाह फैलाएको अभियोगमा सजन श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका–२ तिर्थचोक र अफ्ताव अन्सारीलाई सिनामंगलबाट सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट सामसुङ ग्यालेक्सी ए१४ ५जी मोबाइल फोन १ थान र गोप्रो हिरो ०९ ब्ल्याक क्यामेरा १ थान बरामद गरिएको छ ।
दुवै जनाविरुद्ध थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डु पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया