भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ

भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – नेपाल–भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी १ उज्बेक नागरिक महिला र १ नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।

मंगलबार बिहान सशस्त्र सीमा बल ५१औं बटालियन सोनवर्षा बीओपीका जवानहरूले सर्लाहीको हनुमान चोकनजिकै पिलर नम्बर ३२६/३२ बाट दुवै जनालाई पक्राउ गरेका हुन् ।

पक्राउ परेकी महिला उज्बेकिस्तानकी ३० वर्षीया सोफिया उज्बेकोवा र उनको साथमा रहेका युवक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरीका १९ वर्षीय विकेश कुमार राय रहेको एसएसबीले जनाएको छ ।

उनीहरूको साथबाट विना दर्ता नम्बरको इलेक्ट्रिक स्कुटी, २ मोबाइल फोन र ३ देशका सिम कार्ड (भारत, नेपाल र उज्बेकिस्तान) बरामद गरिएको थियो । तर सोफियाको साथमा पासपोर्ट वा भिसा जस्ता कुनै आधिकारिक कागजात फेला परेको छैन ।

एसएसबीका अनुसार प्रारम्भिक अनुसन्धानमा सोफिया उज्बेकोवा काठमाण्डु हुँदै सर्लाहीको मलंगवा पुगेकी र त्यहाँबाट सोनवर्षा सीमाना पार गरी भारतको दिल्ली जाने तयारीमा रहेको खुलेको छ ।

यात्रामा उनलाई नेपाली युवक विकेशले सहयोग गरिरहेको एसएसबीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।